मोदीलाई उस्तै जवाफ दिए बिहारका मुख्यमन्त्री नीतीश कुमारले

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन (एनडिए) मा रहेको जनता दल युनाइटेडले झड्का दिएको छ ।

मोदी सरकारमा बिहारका मुख्यमन्त्री नीतीश कुमारको पार्टी जेडियुका लागि एक मन्त्रीको प्रस्ताव गरिएको थियो । नितिसले सो प्रस्ताव अस्वीकार गरे । मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएको तीन दिनपछि आइतबार बिहारका मुख्यमन्त्री नीतीश कुमारले भाजपालाई त्यस्तै जवाफ दिए ।

आइतबार नीतीश कुमारले बिहार राज्य सरकारको मन्त्रीमण्डल बिस्तार गरे, जसमा जेडियुका आठ विधायक मन्त्री बने । उनले सहयोगी पार्टी भाजपालाई एक मन्त्री दिनका लागि प्रस्ताव गरे । तर नीतीश कुमार बिहारमा भाजपासँग कुनै पनि किसिमको मतभेद नरहेको दाबी गरिरहेका छन् । जेडियु र भाजपाबिच कुनै विवाद नरहेको उनले दाबी गरेका छन् ।

भाजपालाई एक मन्त्री पद दिएको भए पनि उनीहरुले विधायकको नाम नदिएको नीतीशले दाबी गरेका छन् । नीतीश कुमारले मोदी नेतृत्वको केन्द्र सरकारमा आफूहरुको सांकेतिक वा नाम मात्रको सहभागिता स्वीकार्य नरहेको भन्दै मन्त्रीमण्डलमा नबस्ने बताएका थिए ।

बिहारको मन्त्रीमण्डलमा जेडियुका ८ मन्त्री थप भएपछि कुल मन्त्रीको संख्या ३३ पुृगेको छ । केन्द्रको मोदी सरकारमा मन्त्रीको स्ंख्या ५८ छ ।

नीतीशले आफ्नो मन्त्रीमण्डलमा पिछडा, अति पिछडा तथा दलित जातिका विधायकलाई विशेष प्राथमिकता दिएका छन् । बिहारका विपक्षी दलहरुले भाजपा र एनडिए गठबन्धनमा विवाद रहेको बताउन थालेका छन् ।

जेठ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्