काठमाडौँ – लोकसेवा आयोगले हालै प्रकाशित गरेको पदपूर्ति सम्बन्धी विज्ञापनमा अपांगता भएका व्यक्तिलाई कानून अनुसार आरक्षणको व्यवस्था नभएको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

महासंघल सोमबार लोकसेवा कार्यालय अगाडि प्रदर्शन गरेको हो । निजामती सेवा ऐन अनुसार अपाङ्गता भएका व्यक्तिका लागि पाँच प्रतिशत आरक्षण हुन पर्ने भए पनि जेठ १५ गते प्रकाशित सूचनामा त्यसको पालना नभएको महासंघले बताएको छ ।

देशका विभिन्न स्थानीय तहका लागि आयोगले ९ हजार १६१ पदमा आवेदन खुलाएकोमा आपांगता भएका व्यक्तिका लागि मात्रै तीन कोटामा आरक्षण रहेकाले विरोध प्रदर्शनमा उत्रिएको महासंघले जनाएको छ ।

कुल माग गरिएको पद संख्याको पाँच प्रतिशत हुने गरी आरक्षणको व्यवस्था गरेर सच्याएर पुनः दरखास्त आह्वान गर्न महासंघले माग गरेको छ ।

यसका लागि महासंघले नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगको ध्यानाकर्षण गराएको छ । यसमा लोक सेवा आयोगले पुनर्विचार गरी विज्ञापन नसच्याएको खण्डमा चरणवद्ध आन्दोलन गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।