दरबार हत्याकाण्ड

बाबुराम भट्टराईलाई चुनौतीः आरोप सावित गर या माफी माग

फाइल तस्बिर

काठमाडौँ– पूर्वमन्त्री तथा प्राज्ञ दीपक ज्ञवालीले दरबार हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो निर्दोषिता सावित गर्नुपर्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको धारणाप्रति आपत्ति जनाएका छन्।

‘दाेषी सावित गर्ने दायित्व आरोप लगाउनेको हुन्छ’, ज्ञवालीले भने। भट्टराईको यो कथन सोभियत रुसमा त्यहाँको जासुसी संस्था केजीवीबारे चर्चित व्यंग्यसँग मिल्दो जुल्दो छ।

‘भनिन्थ्यो, केजीवीले कुनै व्यक्तिलाई समाप्त पार्नु पर्‍यो या निर्वासनमा साइबेरिया पठाउनु पर्‍यो भने उसलाई आफू उँट नभएको सावित गर्न भनिन्थ्यो। आखिर भट्टराई पनि त त्यही शैलीमा दीक्षित व्यक्ति हुन्’, ज्ञवालीले भने।

दरबार हत्याकाण्ड लगत्तै ‘नयाँ काेतपर्वलाई मान्यता दिनु हुँदैन’ भन्ने चर्चित लेख मार्फत भट्टराईले राजा वीरेन्द्रको वंश नासमा अमेरिका र भारतका जासुसी संस्थाद्वारा रचित षड्यन्त्रमा गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाह मतियार रहेको दाबी गरेका थिए।

तर १८ वर्षपछि त्यो दाबीलाई केही बदल्दै भट्टराईले त्यो उनको निष्कर्ष नभएर तत्कालीन परिस्थितिका आधारमा उनको ‘अवधारणा’ भएको दाबी गरेका थिए देश सञ्चारसँगको एक भिडियो अन्तर्वार्तामा।

‘यस्ता किसिमका घटनाका अवधारणा बाहिर कसैले ल्याउँदैन। डिजाइनरका हित र आदेशमा एजेन्टहरु बोल्ने गर्छन्’, ज्ञवालीले भने। ‘गिरिजाप्रसाद कोइरालालाई त्यो घटनामा ‘मतियार’ भन्दा कांग्रेस किन चुप लाग्यो? अनि भट्टराई स्वयंले किन आफ्नो नेता माने काेइरालालाई ०६३ पछि’, ज्ञवालीले भने।

नेपाली कांग्रेसका एक वरिष्ठ नेता तथा पूर्वमन्त्रीले भट्टराईले कोइराला र पूर्वराजाका बारे दिएको अभिव्यक्तिका लागि पूर्णरुपमा क्षमायाचना गर्नुपर्ने बताए।

आन्दोलनको नाममा कैयौँको ज्यान लिएका भट्टराईले आफ्ना राजनीतिक प्रतिद्वन्दीहरुको चरित्र हत्याको उद्देश्यले कोइराला र राजा विरुद्ध आक्षेप लगाएको उनले बताए। ‘आरोप सावित गर्न नसके माफी माग्नु पर्छ उनले’, नाम खोल्न नचाहने ती पूर्वमन्त्रीले भने।

जेठ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्