बाबुराम भट्टराईको माग

‘मदन भण्डारीको दुर्घटनासँगै अमर लामा हत्याबारे छानबिन गर्नुपर्छ’

फाइल फोटो।

काठमाडौँ – राजदरबार हत्याकाण्डबारे बोली फेरका समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले नेता मदन भण्डारीको मृत्यु सम्बन्धमा सरकारले छानविन गर्नु पर्ने माग गरेका छन्।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा सडक  दुर्घटनामा परी ज्यान गुमाएका नेता भण्डारीबारे सरकारले छानविन  गर्नुपर्ने माग भट्टराईले गरेका छन्।

पुराना छानविन प्रतिवेदनहरु सार्वजनिक नभएको अवस्थामा भट्टराईले भण्डारीकै पार्टी सत्तामा रहेका बेला उनको दुर्घटना भएको र हाल पनि ती पार्टीकै नेताहरु सत्तामा रहेकाले भण्डारीबारे छानविन हुनुपर्ने माग अघि सारेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीका हत्याराहरु रेशमी पर्दाको पछाडि छन् भन्नु मात्रै उनको नैतिकताले नदिने भट्टराईको भनाई छ।

तत्कालिन माओवादीका जनसरकार प्रमुख समेत रहेका भट्टराईले दुर्घटना हुँदा मदन भण्डारी र जीवराज आश्रितका चालक रहेका अमर लामालाई  सोधपुछ गर्न गिरफ्तार गरी माओवादीकै हातबाट मारिन पुगेको विषयमा पनि छानविन हुनुपर्ने बताए।

मदन भण्डारीको दुर्घटनाको १० वर्षपछि चालक लामालाई माओवादीले गिरफ्तार गरेको थियो र त्यसको केही घण्टामै लामाको हत्या भएको थियो।

यो सँगै भट्टराईले १८ वर्ष अघिको राजदरबार हत्याकाण्डमा अमेरिकी र भारतीय जासुसी संस्थाको षड्यन्त्रमा गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाह मतियार भएका थिए भन्ने त्यसबेला सार्वजनिक गरेको आफ्नो दाबीलाई निष्कर्ष नभएर अनुमान मात्रै भएको बताएका छन्।

जेठ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्