‘इन्डो प्यासिफिक स्ट्राटेजी’

अमेरिकी दाबीबारे नेपाल अझै अध्ययनमै

फोटो :नेपाली दूतावास वासिङटन डिसि

काठमाडौँ–नेपालले पटक–पटक अन्तर्राष्ट्रिय सामरिक रणनीतिमा सामेल नहुने प्रतिबद्धता व्यक्त गरिरहे पनि संयुक्त राज्य अमेरिकाले उसको नेतृत्वको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा नेपाल पनि रहेको दावी गरेको छ ।

अमेरिकाको रक्षामन्त्रालयले शनिबार जारी गरेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट’ मा नेपाल, श्रीलंका र बंगलादेशलाई अमेरिकाको ‘इन्डो प्यासिफिक’ सहभागिता कार्यक्रम अन्तर्गत रहेको देखाएको छ ।

गत डिसेम्बरदेखि के नेपालले सामरिक तटस्थता नीति त्यागेर अमेरिकी रणनीतिमा प्रवेश गरेको हो ? भन्ने बहसका बीच शनिबार जारी गरिएको रिपोर्टले थप आशंका उठाएको छ ।

अमेरिकी विदेशमन्त्री माइकल पम्पियोको निमन्त्रणमा वासिङटन पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको यात्रानै नेपालको अमेरिकीप्रतिको झुकावको प्राम्भिक विन्दुको रुपमा हेरिएको छ ।

‘अमेरिकाले आफ्नो रिपोर्टमा उल्लेख गरेपनि नेपालले ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा सामेल हुने प्रतिबद्धता जनाएको छैन,’ सरकारका एक उच्च अधिकारीले छिट्टैनै यसबारे सरकारी धारणा आउने दाबीका साथ भने ।

तर परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण लगत्तै अमेरिकी विदेश मन्त्रालयले नेपाल केन्द्रीय भूमिकासहित ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ को महत्वपूर्ण अंग हुने दावी गरेको तर यता नेपाल सरकारद्धारा जारी वक्तव्यमा भने नेपाल र अमेरिकी सम्बन्ध अर्को ‘उचाई’ पुगेकोे व्याख्या गरिएको थियो । वक्तव्यमा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ बारे कुनै उल्लेख गरिएको थिएन ।

त्यसलगत्तै अमेरिकी विदेश मन्त्रालयले प्रधानमन्त्री केपीशर्मा ओलीलाई पत्र लेखि नेपाल ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा सामेल भएकोमा धन्यवाद दिएको थियो ।

नाम नखुलाउने सर्तमा देशसञ्चारसँग कुरा गर्दै सरकारका एक उच्च अधिकारीले भने, ‘नेपाल विदेश नीति र सामरिक नीतिबारेको निर्णय सिंहदरबारबाट भन्दा वासिङटनस्थित नेपाली दूतावासबाट सञ्चालित भइरहेका छन् ।

र, अमेरिकाका लागि नेपाली राजदूतले सिधै प्रधानमन्त्रीसँग सल्लाह गरी महत्वपूर्ण निर्णय तथा विदेशीसँग अन्तक्र्रिया गर्दै आएका छन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले भने ‘इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट’ बारे अझै अध्ययन गर्न बाँकी रहेको बताउँदै आएका छन्।

डिसेम्बरमा अमेरिकाबाट फर्कंदा पनि उनले अमेरिकाले केही प्रस्तावहरु राखेको भएपनि त्यसबारे अध्ययन भइरहेको बताएका थिए।

रिपोर्टमा अमेरिकाले भारतसँग प्रतिरक्षा साझेदारी बढाउने र त्योसँगै श्रीलंका, बगलादेशसहित नेपाललाई पनि ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा भित्राउने र सामरिक व्यवसायिकतामा वृद्धि ल्याउने अनि यी क्षेत्रहरुमा प्रतिआतंकवाद तथा स्थानीय जनता र आर्मीसँगको सम्बन्धलाई अभिवृद्धि गर्ने उल्लेख छ। रिपोर्टका सम्बन्धमा सरकारले भने कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

यसै सिलसिलामा अमेरिकी रिपोर्ट र नेपालको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा संलग्नताबारे उल्लेख नगरी सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई नेताले अमेरिकाको नेपालमा बढ्दो रवाफ र नेपाली सेनासँगको बढ्दो हिमचिमबारे प्रश्न उठाएका छन्।

यसका साथै नेपालका सांसद तथा पूर्वमन्त्रीहरु भीम रावल र देव गुरुङले नेपालको संवेदनशिल भूभागमा अमेरिकी सेनाको उपस्थिति यही रणनीति अन्तर्गत हुन सक्ने बताएका छन् ।

अमेरिकाले आफ्नो ५० करोड अमेरिकी डलर अनुदानमा नेपालमा शुरु गरेको मिलिनियम कर्पोरेशन कार्यक्रम लाई पनि ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गतनै राखेको छ ।

जसअन्तर्गत उच्च क्षमताको प्रसारणलाइन निर्माण हुनेछ । र त्यसअन्तर्गत आवश्यक तयारी, साझेदारी र सञ्जालयुक्त क्षेत्रीय संरचनाको निर्माण केन्द्रीय विषय हुनेछन् ।

मन्त्री ज्ञवालीले अमेरिकी भ्रमण गरेयता अमेरिकाका उच्च अधिकारीहरुले नेपाल आएका बेला चीन र उसको रणनीतिक कार्यक्रम ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) को खुलेरै आलोचना गर्ने गरेका छन्।

उनीहरुले त्यसमा पारदर्शीता नभएको र ऋणको माकुरे जालोमा फसाउन सक्ने चेतावनी दिँदै आएका छन्।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाका प्रमुख, परराष्ट्र सचिव शंकरदास वैरागी, वरिष्ठ मन्त्रीहरुसँग छलफल गरी ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सम्बन्धमा नेपालको आधिकारिक धारणा चाँडै सार्वजनिक गर्ने तयारीमा छन्।

जेठ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्