वार्ताबाट समाधान खोज्न ‘गेसो’ को आग्रह

काठमाडौँ – गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथिको विभेदको विषय वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।

गेसोले सोमबार पत्रकार सम्मेलन गरी बेलायत सरकारले गरेको पूर्व प्रतिबद्धतानुरुप गोरखा सैनिकको समस्या सम्बोधनका निम्ति अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहलबाट समाधान खोज्न आग्रह गरेको हो ।

ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति यूके नेपालले गोरखा भर्तीविरुद्ध अभियान, गोरखा ट्रेनिङ बन्दका लागि पत्राचार, ब्रिटिस गोरखा क्याम्पमा तालाबन्दी, बेग्लै गोरखा राज्यको मागजस्ता कार्यप्रति गेसोको समर्थन नरहेको गेसोका अध्यक्ष कृष्णकुमार राईले बताए । सो समितिले सधैँका लागि वार्ताको ढोका बन्द गर्ने, गोरखा वेल फेयर सेन्टर बन्द गर्ने, सशस्त्र आन्दोलन गर्ने अभियानप्रति गेसोको कुनै सर्मथन नरहेको उनले बताए ।

“वार्ता र संवादको माध्यमबाट बेलायत सरकारले गरेको प्रतिबद्धतानुसार गोरखा सैनिकको समस्या समाधान खोज्नुपर्छ, गोरखा भर्तीविरुद्धको अभियानजस्ता कार्य गर्न हुँदैन ।” बेलायत सरकारले पहिलो पटक औपचारिकरुपमै गोरखा सैनिकमाथि विभेद र असमानता रहेको स्वीकार गरेर प्रतिवेदनमा हस्ताक्षर गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कूटनीतिक पहलबाट समाधान खोज्नका लागि पहल भइरहेको बताउनुभयो । गोरखा आन्दोलनमार्फत युद्धबन्दीलाई क्षतिपूर्ति, कार्यरतलाई समान निवृत्तिभरण, आवासीय प्रवेशाज्ञालगायत उपलब्धी भए पनि सेवा निवृत्त भूपू गोर्खाको निवृत्तिभरणलगायत सुविधा मागेको विषय सम्बोधन नगर्दा निवृत्तिभरणमा अझै विभेद रहेको छ । गेसोले वार्ता र सहमतिबाटै निकास खोज्न पहल गरेको हो ।

जेठ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्