कार्यान्वयन हुँदै प्रधानमन्त्री रोजगार कार्यक्रम

वेरोजगारीलाई काम दिन वडा मार्फत आयोजना माग

पोखरा-बेरोजगारीलाई रोजगार दिने हेतुले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचिकृत हुन आएका बेरोजगार जनशक्तिलाई काम दिन पोखरा महानगरपालिकाले सबै वडाबाट आयोजना माग गरेको छ। चालु आव २०७५-०७६ असार मसान्तसम्म सकिने आयोजनाको छनोट गरी महानगरमा ३ दिन भित्रमा जानकारी गराउन ३३ वटै वडा कार्यालयलाई मंगलबार पत्र पठाइएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको बेरोजगारीलाई भत्ता दिने योजनाको रकम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत खर्च गरिने भएको हो। पोखरा महानगरले चालु आवमै खर्च गर्न पाउने गरी १ करोड रुपैयाँ सशर्त अनुदान पाएको छ।

मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७६ पारित गरिसकेकोले स्थानीय विकास निर्माणका काममा जनशक्ति परिचालन गरिने पोखरा महानगरका रोजगार संयोजक माधवप्रसाद न्यौपानेले जानकारी दिए।

‘कार्यक्रम अनुसार बेरोजगारको लगत संकलन भई आइसकेको छ,’ उनले भने, ‘महानगरका सबै वडालाई पत्र पठाई त्यहाँ आवश्यक आयोजनाको छनोट गर्न भनेका छौं।उहाँहरुले सिफारिस गरेअनुसारको आयोजनामा कम्तिमा ३० दिन रोजगार उपलब्ध गराउन सकिन्छ।’

वडाले आयोजना पठाउँदा महानगरको रातो किताबमा समावेश आयोजनालाई प्राथमिकता दिनुपर्नेछ। त्यसबाहेकका आयोजनामा भने सम्बन्धित समुदायको प्राथमिकतामा पर्ने योजना छनोट गर्न सुझाइएको छ।

एक वडाले एउटामात्रै योजना सञ्चालन गर्न पाउने छन्। अधिकतम ५ लाख रुपैयाँसम्मको आयोजना छनोट गर्न पत्राचार गरिएको रोजगार संयोजक न्यौपानेले जानकारी दिए।

उनले भने, ‘योजना लागतको ७० प्रतिशत रकम पारिश्रमिकमा खर्च गर्नुपर्ने हुन्छ।त्यस्ता आयोजनामा मेसिनरी यन्त्र प्रयोग गर्न पाइदैन।२५ प्रतिशत सामग्री खरिद र व्यवस्थापन खर्चका लागि बाँकी रकम खर्चिन पाइन्छ।’

ज्याला भुक्तानीका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक वा स्थानीय तहले निर्धारण गरेको ज्याला मध्ये जुन बढी हुन आउँछ सोही अनुसार भुक्तानी दिन सकिने प्रावधान छ।

कार्यविधि अनुसार आयोजनाको प्रकारमा स्थानीय आवश्यकता सहितका सडक निर्माण, कृषि तथा सिञ्चाई, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाई, शिक्षा, वन तथा जलाधार र पर्यटन क्षेत्रमा काम गर्न सकिने छ।

सडक मर्मतदेखि वृक्षरोपण, सार्वजनिक स्थलहरुको सरसफाई, सामूहिक फलफूल खेती, चौतारो निर्माण, टे«किङ रुट निर्माण एवं मर्मतसम्मका कामहरु समेत गर्न सकिने छन्।

वडा कार्यालय मार्फत नै आयोजनाको कार्यान्वय र अनुगमन हुने छ।आयोजनामा खटिने प्राविधिक कर्मचारीलाई आयोजनाको लागत स्टिमेट देखि सम्पन्नसम्मको कामको अनुगमन, मूल्यांकनको जिम्मेवारी हुने छ।उक्त कर्मचारीको समेत सोही कार्यक्रम मार्फत ज्याला व्यवस्था हुने कार्यविधिले निश्चित गरेको छ।

वडाले समयमै आयोजनाको छनोट गरी सिफारिस गरेमा चालु आवमा लक्ष्य अनुसारको रोजगार प्रदान गर्न सकिने रोजगार संयोजक न्यौपाने बताउँछन्।
रोजगारीको अवसर सिर्जना गर्ने गरी ल्याएको कार्यक्रमलाई वडामा सञ्चालन गर्न छलफल गरिने वडा २१ का अध्यक्ष खगराज आचार्यले जानकारी दिए।

प्राथमिकतामा कुन आयोजनालाई कार्यक्रम अनुसार सञ्चालन गर्न सकिन्छ छलफल गरेर टुंगो लगाइने उनले बताए।चालु आवको अन्त्यमा कार्यान्वयनमा आउन लागेको कार्यक्रम पूर्ण रुपमा सफल हुन सक्नेमा भने उनले शंका व्यक्त गरे।

आगामी आव २०७६÷०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ।सीप नभएका व्यक्तिलाई काममा दक्ष बनाउन क्षमता बृद्धि तालिम समेत सञ्चालन गरिने सरकारको योजना छ।

महानगरमा १ हजार ३ सय ८८ जना बेरोजगारमा सूचिकृत


प्रधानमन्त्री रोजगार कार्यक्रममा पोखरा महानगरपालिकाका ३३ वटा वडाबाट कुल १ हजार ३ सय ८८ जना सूचिकृत भएका छन्।

रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको सबैका लागि रोजगार सुनिश्चित गर्ने कार्यक्रम अनुसार संकलित लगतमा पोखरा महानगरमा उक्त संख्यामा बेरोजगारीको संख्या देखिएको हो।

चैत र वैशाख महिनामा महानगरका वडाहरुबाट बेरोजगारको नामावली संकलन गर्ने काम भएको थियो।महानगरका ३३ वडामध्येमा सबैभन्दा धेरै वडा २१ बाट १ सय ६८ जनाले कार्यक्रममा सहभागि हुन इच्छा देखाएका छन्।

बजार क्षेत्रमा पर्ने वडाहरुमा बेरोजगारको सूचिमा नाम दर्ता गराउनेहरुको संख्या न्यून देखिएको छ।महेन्द्रपुल, चिप्लेढुंगा, मालेपाटन अन्तर्गत पर्ने वडाहरु ४ र ५ मा बेरोजागरको संख्या शून्य देखिएको छ।

पृथ्वीचोक, नयाँबजार, न्यूरोड, लेकसाइड क्षेत्र पर्ने वडाहरुबाट समेत अत्यन्तै न्यून संख्यामा बेरोजगारको सूचिमा नाम दर्ता भएको छ।सरकारको कार्यक्रममा कतिपयले चासो नदिँदा पूर्ण बेरोजगार भएकाहरु समेत सहभागि नभएको स्थानीय जनप्रतिनिधि बताउँछन्।

बजार क्षेत्रमा हुने विकास निर्माण लगायतका काममा युवाहरुको चाख नहुँदा सोचेअनुरुपको जनशक्ति कार्यक्रममा सहभागि नभएको उनीहरुको भनाइ छ।

रुपामा वृक्षारोपणका लागि जनशक्ति आह्वान


कास्कीको रुपा गाउँपालिकाले सडकको दुइतर्फी क्षेत्रमा वृक्षारोपण कामका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत जनशक्तिलाई परिचालन गर्ने भएको छ।

वृक्षारोपण कामका लागि इच्छुक सूचिकृत व्यक्तिलाई गाउँपालिकाले ७ वटै वडा कार्यालयमा नाम दर्ता गराउन सूचना समेत जारी गरिसकेको छ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७६ अन्तर्गत नै गाउँपालिकाले बेरोजगारलाई रोजगार दिन उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो।

गाउँपालिकामा ६ सय ८ जनाले रोजगारीका लागि आवेदन दिएका थिए।सूचिकृत बेरोजगार व्यक्तिहरुको नामावली सम्बन्धीत वडा कार्यालयमा पठाइसकिएकोले छनोटको जिम्मेवारी समेत वडालाई दिइएको रोजगार संयोजक संजयदत्त ढकालले जानकारी दिए। गाउँपालिकामा रोजगार कार्यक्रमका लागि ५ लाख रुपैयाँ सशर्त अनुदान पाउने भएको छ।

जेष्ठ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू