सद्भावकाे अवसर

क्राइस्टचर्च आक्रमण भोगेको न्युजिल्याण्डको इद उल फित्र, उदास तर एकताबद्ध

न्युजिल्याण्डको क्राइस्टचर्चमा गएको चैत १ गते शुक्रबार दुई मस्जितमा आतंककारी आक्रमण भयो। ‘ह्वाइट सुप्रिमिस्ट’ ले गरेको आक्रमणमा ५१ जनाको ज्यान गयो । फेसबुक लाइभ गरेर भएको आक्रमणपछि न्युजिल्याण्डले बन्दुक सम्बन्धी कानून कडा बनायो ।

विपदको अवस्थामा विचलित नभई एकताबद्ध भएका न्युजिल्याण्डका नागरिकले पीडालाई शक्तिमा बदले र प्रभावितहरुलाई आड भरोसा दिन सक्दो प्रयास गरे ।

अभिभावकीय भूमिकामा रहेको बेलायतको राजपरिवारबाट प्रतिनिधि गए प्रभावितहरुलाई साथ दिन । पहिलो राजकुमार ह्यारी पुगे । त्यसपछि महारानी एलिजाबेथ द्वितियको प्रतिनिधिका रुपमा राजकुमार विलियम गए ।

उनले आक्रमणमा घाइते भएकी एक बालिकासँग आफ्नी छोरीका बारेमा कुरा गरे, ती बालिकालाई खुशी बनाउने प्रयास गरे । पीडामा आफूहरु पनि साथमा रहेको सन्देश दिए । उनीहरु मात्रै होइन विश्वभरबाट न्युजिल्याण्ड र त्यहाँका नागरिकप्रति सद्भाव प्रकट भयो ।

घटनाले दिएका केही चोटहरुमा खाटा बस्दैछ, केही अझै आलै छन् । तर विपदका बेला नागरिकको एकता सबैभन्दा ठूलो शक्ति रहेको प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बताउँदै आएकी छन् । देशको इतिहासमै भयानक आक्रमणबाट माथि उढ्दै गरेको न्युजिल्याण्डको क्राइस्टचर्चका दुई मस्जिद, जो अतंककारीको निशानामा परेका थिए, त्यहाँ बुधबार पवित्र पर्व इद उल फित्र मनाईँदै छ । तर यो वर्षको इद यी मस्दिमा अघिल्ला वर्षहरुको जस्तो उल्लासपूर्ण छैन, उदास छ ।

न्युजिल्याण्डमा इद पर्व राष्ट्रिय रुपमा मनाउनका लागि बनाइएको समितिका अध्यक्ष जावेद दादाभाइले न्युजिल्याण्ड हेराल्डसँग भनेका छन्, ‘यो वर्षको इद उल फित्र अघिल्ला वर्षको भन्दा उदास र मौन हुँदैछ, किनकी क्राइस्टचर्चमा भएको आक्रमणको खराब स्मृति मानिसहरुमा अझै ताजा छ ।’

उनले अघि भनेका छन्, ‘हामीलाई इमामाले त्यो कुरा सम्झाएका छन् कि हामीले जुन अवसर पाएका छौँ इद मनाउने त्यो अवसर क्राइस्टचर्चका अरुले पाएका छैनन् ।’ उनले मार्च १५ भएको आक्रमणमा ज्यान गुमाएका ५१ जनाको स्मरणमा यसो भनेका हुन् ।

जावेदले भने, ‘क्राइस्टचर्चले हामीलाई यो स्मरण गराउँछ कि हरेक दिनलाई पूर्ण बाँच्न सक्नु पर्छ, किनकी अर्को दिन के हुन्छ थाहा छैन । दुई महिना हामीले शोकमा बितायौँ । र इद अब हाम्रो समय हो रमाउने र धन्यबाद भन्ने अनि हामीबाट बिदा भएका प्रभावितहरुका लागि प्रार्थना गर्ने ।

इद उल फित्रको अवसरमा एडन पार्कमा विशेष कार्यक्रम हुँदैछ र त्यहाँ १० हजार भन्दा बढी मानिस जम्मा हुने छन् । त्यहाँ क्राइस्टचर्च आक्रमणमा ज्यान गुमाएकाको स्मरणका लागि विशेष स्थानको व्यवस्था गरिएको छ । यो वर्ष इदका लागि सुरक्षा व्यवस्था बढाइएको छ ।

जेष्ठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्