सुदूरपश्‍चिम सरकारको उपलब्धि: १५ किमी सडक कालोपत्रे !

फाइल फोटो

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशभरि १५ किलोमिटर सडक पिच गरेको छ। उसले यसलाई ठूलो उपलब्धिका रुपमा लिएको छ।

प्रदेश सरकारले गत आइतबार प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा भए गरेका विकास निर्माण कार्यलाई उल्लेख गरेको छ। जसमा एक वर्षमा गरेको १५ किलोमिटर सडक पिचलाई पनि ठुलो उपलब्धिका रुपमा उल्लेख गरिएको छ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका शाखा अधिकृत वीरबहादुर धामीले कञ्चनपुरको बाणी–देखतभूलीमा साढे सात किलोमिटर र अर्को सडकमा साढे सात किलोमिटर गरि १५ किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिए।

यसैगरी प्रदेश सरकारले चालू आर्थिक वर्षका उपलब्धिमा ५२ किलोमिटर सडक ग्राभेललाई उल्लेख गरेको छ। धामीका अनुसार प्रदेशका नांै वटै जिल्लाका विभिन्न सडकमा गरी एक वर्षको अवधिमा ५२ किलोमिटर सडक ग्राभेल गरिएको हो।

त्यसैगरी, प्रदेश सरकारले चालू आर्थिक वर्षको अवधिमा दुई सय २० किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको उल्लेख गरेको छ। त्यस्तै, साविकमा संघीय सरकारले निर्माण प्रारभ्म गरी प्रदेशलाई हस्तान्तरण गरेका तीन वटा पक्की पुल र दुई वटा झोलुंगे पुलको निर्माण कार्य पूरा गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रममा उपलब्धिका रुपमा उल्लेख छ।

यसैगरी प्रदेश सरकारले नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन र आवतजावतलाई सहज तुल्याउन सडक, पुल निर्माण लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उद्देश्यले प्रदेशका नौ वटै जिल्लाहरुमा एक-एक वटा प्रदेश गौरवका सडकहरु छनोट गरी विस्तृत अध्ययन सर्भेक्षणको काम भइरहेको जनाएको छ।

प्रदेश सरकारको १२ अर्व ३७ करोड कुल विकास बजेट मध्ये दुई अर्व ४६ करोड खर्च गरेको छ भने १२ अर्व ६४ करोड चालु तर्फको बजेट मध्ये ३ अर्व २९ करोड खर्च गरेको छ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी यज्ञराज पाण्डेयले हालसम्म कुल पाँच अर्ब ७५ करोड रुपैयाँ खर्च भएको जानकारी दिए।

जेष्ठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्