भिल्लाका देशमा मणिजस्तै ओखरबोटको तामाखानी

म्याग्दी-पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको नेपालकै उत्कृष्ट तामाखानी सञ्चालनमा आउन सकेको छैन। तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौँको वार्षिक आम्दानी गुमाएको छ भने जनता बेरोजगारीका कारण विदेशिन बाध्य भएका छन्।

२०१८ सालदेखि २०४२ सम्म नियमित सञ्चालनमा रहेको र त्यसपछि सरकारको निर्देशनका कारण बन्द रहेको तामाखानी अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीय सरकार र जनताका लागि तामाखानी ‘भिल्लाका देशमा मणि जस्तै भएको छ।

यो तामाखानीमा २०४२ सालसम्म दैनिक २०० भन्दा बढी कामदारले काम गर्नाका साथै प्रत्येक दिन सात÷आठ धार्नीसम्म तामा निस्कने गरेको तत्कालीन प्रधानपञ्च एवम् हाल मालिका गाउँपालिका–४ का वडाध्यक्ष दिलीपकुमार शेरचनले जानकारी दिए। त्यतिबेला यहाँको खानीबाट निकालिएको तामा प्रतिधार्नी रु १५० मा बिक्री हुने गरेको उनले बताए।

तत्कालीन अवस्थामा तामाखानीका ठेकेदारसमेत रहनुभएका वडाध्यक्ष शेरचनका अनुसार सो तामाखानीमा २०२६ सालमा भारतको विडला कम्पनीबाट प्राविधिकहरु झिकाई खानीको अवस्था बुझ्दा प्राविधिकहरुले त्यहाँ सुन पनि हुनसक्ने बताएका थिए।त्यसको ४ वर्षपछि तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित २०३० साल मङ्सिर ७ गते तामाखानी अवलोकनका लागि ओखरबोटमा आउनुभएको र खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आदेश दिएको थियो।

त्यसपछि २०४२ सालसम्म नियमित सञ्चालन भएको सो तामाखानी विसं २०४२ मा सरकारले कर वृद्धि गरेपछि कर तिर्न सक्ने अवस्था नहुँदा र तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी बन्द गर्नुपरेको थियो। त्यतिबेला अहिलेका वडाध्यक्ष शेरचनले नै लाइसेन्स लिई खानी सञ्चालन गर्ने ठेक्का लिनुभएको ओखरबाटका ८३ वर्षीय दिलप्रसाद घर्ती मगरले जानकारी दिए।

घर्ती मगरका अनुसार तामाखानीमा दुईवटा मुहान रहेका छन्। ती मुहानहरुको लम्बाइ २५० देखि ३०० मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्न सकिने घर्ती मगरले जानकारी दिए।

स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिशसहित पाँच पटकसम्म काठमाडौंस्थित खानी विभागमा गई खानी सञ्चालनका लागि अनुमति माग्दा सरकारले अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको बताए। “खानी सञ्चालनका लागि मैले धेरै प्रयास गरेँ, अध्यक्ष शेरचनले भन्नुभयो, “तर सरकारले खानी सञ्चालनको अनुमति दिएन।”

तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेण्डा बनाए। गाउँमा चुनावी भाषण गर्न गएका जिल्लादेखि स्थानीय नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पूरा नहुँदा स्थानीयवासी निराश भएका छन्।

ओखरबोट गाउँबाट २० मिनेटको दूरीमा दुई वटा तामाखानी रहेका छन् । दुईवटा खानीको करीब दुई किलोमिटरको सुरुङ खनेर २०४२ सालसम्म नियमित सञ्चालन गरिए पनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावका कारण बन्द भएको तामाखानीका बारेमा एक वर्षयता धेरै बोले पनि काम नभएको स्थानीयवासी जगदीश रसाइलीले गुनासो गरे।

खानी उत्खननका क्रममा प्रयोग गरिएका सामग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन्। यता, मालिका गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले प्रयास भए पनि सरकारी निकायबाट असहयोग रहेको बताए। खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई व्यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानून बनाउनुपर्ने सुझाव अध्यक्ष रोकाको छ।

जेठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्