सामुदायिक वनलाई ‘डम्पिङसाइड’ बनाउँदै स्थानीय सरकार

लमही नगरपालिकाले फोहर फाल्दै आएको स्थानमा वंगुरको लागी दाना खोज्दै महिलाहरु । तस्विरः दशरथ घिमिरे/देश सञ्‍चार

दाङ– गढवा गाउँपालिकाले वडा नं. ५ मा रहेको सामुदायिक वन क्षेत्रलाई फोहर फाल्ने ल्याण्डफिल्ड साईड बनाएको छ। साविक गाविस हुँदा देखी नै बजारबाट निस्कने सबै फोहर सोहि स्थानमा फालिँदै आएको थियो। गाउँपालिका भएपछि दश लाख बजेटबाट फोहर फाल्ने ठाउँलाई फराकिलो बनाएर त्यही सामुदायिक वन क्षेत्रमा सबै खाले फोहर फालिँदै आएको छ।

लमही नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रमा फोहर फाल्दै आएको छ। साविक चैलाही गाविस हुँदा देखी नै बजारबाट निस्कने फोहर त्यहिँ फालिदै आएको थियो। अहिले नगरपालिका भएपछि पनि फोहर व्यवस्थापनको लागि वन क्षेत्र नै रोजिएको छ। घरको भान्सादेखि ग्यारेज, औषधी पसलसम्मको फोहर एकै ठाउँमा फालिदै आएको छ। डम्पिङसाईडमा आगो लगाएर फोहर व्यवस्थापन गरिँदै आएको पाइएको छ।

राप्ती गाउँपालिकाले भालुवाङ बजारबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न जंगल क्षेत्र नै रोजेको छ। गाउँपालिकाले फोहर फाल्ने व्यवस्थित ठाउँ व्यवस्थापन गर्न सकेको छैन। स्थानीय व्यवसायीहरुको पहलमा उत्तर पट्टीको जंगलमा फोहर फाल्ने गरिएको छ। ‘केहीले बजार क्षेत्रमै जलाउने गरेका छन्। फोहर व्यवस्थापनको लागि ठाउँ नहुँदा समस्या छ’, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगत पोखरेलले भने, ‘फोहर फाल्ने ठाउँ नहुँदा बाटोको किनारमै फोहर जलाएर व्यवस्थापन गर्नुपर्ने बाध्यता छ।’

फोहर फाल्ने ठाउँको अभाव देखाउँदै स्थानिय सरकारले फोहर व्यवस्थापनको लागि वन क्षेत्र नै रोजेको पाइएको छ। तर यसरी वन क्षेत्रमा फोहर फाल्न कानुनले दिँदैन। वन, वातावरण, जैविक विविधताको संरक्षणमा सक्रिय हुनुपर्ने स्थानिय सरकार नै वातावरण मैत्रि हुन सकेका छैनन्।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले प्रदेश ५ को एक मात्र नगरपालिका लमहीमा लेदोजन्य फोहर व्यवस्थापनको लागि कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको बताए। ‘फोहर व्यवस्थापनको लागि नयाँ कार्यक्रम लागु गर्दैछौँ’, उनले भने,‘शौचालयमा जम्मा भएको फोहरलाई प्राङगारिक मल बनाएर व्यवस्थित गर्ने कार्यक्रम पनि छ।’

स्थानीय सरकारले फोहरमैला व्यवस्थापन ऐन २०६८, अनुसार फोहरमैलाको व्यवस्थापन गर्न सकिरहेका छैनन्। ऐनमा उल्लेख भएका प्रावधान अनुसार फोहरमैला व्यवस्थापन गर्न नसकेका हुन्। ऐनमा फोहरमैला व्यवस्थापन गर्ने सम्पूर्ण दायित्व स्थानिय सरकारको रहने उल्लेख छ।

यस्तै विश्व वातावरण दिवसको अवसरमा दाङमा विभिन्न कार्यक्रम आयोजना गरिए। बजार सरसफाई, वृक्षारोपण, अनतरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको छ। स्थानिय सरकार, विभिन्न गैर सरकारी संघ संस्था, समूहहरुले दिवसको अवसरमा औपचारीक कार्यक्रम गरेर दिवस मनाएका हुन्।

जेठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्