जितपछि कप्तान विराट कोहलीले के भने ?

इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा भारतीय टिमले विजयी सुरुवात गरेको छ। साउथह्याम्पटनमा भएको खेलमा भारतले दक्षिण अप्रिकालाई ६ विकेटले हराएर विजयी सुरुवात गरेको हो । २२८ रनको लक्ष्य भारतले ४७ ओभर तीन बलमा चार विकेट गुमाएर भेट्टायो । भारतको जितमा रोहित शर्माको भूमिका अहम रह्यो, उनले नटआउट १२२ रन बनाए ।

जितपछि भारतीय टिमका कप्तान विराट कोहली निकै उत्साहित देखिएका थिए । कप्तान कोहलीले खेल सुरुदेखि नै चुनौतीपूर्ण रहेको बताए । तर नतिजा आफूहरुको पक्षमा आउँदा उत्साह बढेको उनले बताएका छन् । उनले भनेका छन्, ‘राम्रो सुरुवात निकै जरुरी हुन्छ, हामीले सबै प्रयास राम्रोसँग गरेकाले जित हाँसिल गर्न सक्यौँ । तर हाम्रो रन रेट भने कम थियो।’

खेल र पिचको अवस्था बुझेपछि खेल चुनौतीपूर्ण थियो भन्ने थाहा हुने उनले बताएका छन् । उनले भने, ‘सबै ब्याट्सम्यान, खासगरी रोहित शर्मालाई धन्यबाद भन्नु पर्छ, उनको पारी निकै खास रह्यो ।’

कोहलीले भने, ‘हामीले टस जितेको भए पहिले बलिङ्ग नै गर्ने थियौँ । हामीलाई परिस्थितिको आँकलन थियो । खासगरी नयाँ बलमा निकै कठिन हुन्छ । पहिलो १५ ओभर राम्रो होस् भन्ने ख्याल गर्नु पर्छ हामी १० ओभरभित्रै खेलमा घुलमिल भएका थियौँ ।’

भारतका लागि महेन्द्र सिंह धोनीले ३४, केएल राहुलले २६ तथा हार्दिक पाण्डेयले १५ रन बनाए । कप्तान कोहलीले १८ रन बनाएका हुन् ।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू