मेयर चौधरीमाथि फौजदारी मुद्दा लगाउन सांसदको माग

काठमाडौँ – पत्रकारको नाक भाँच्ने धम्की दिएर विवाद र चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले मेयर चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरीत धम्की दिएकाले फौजदारी कानुनअन्तरगत कारबाही गर्न माग गरेका हुन् ।

विपक्षी कांग्रेसकी सांसद सुजाता परियारले संसदमा भनिन्, ‘इटहरीको मेयरको हर्कत के हो ? पत्रकारमाथि नै आक्रामणको धम्की ? हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धी यही हो ? उनलाई कारबाही गरियोस् ।’

त्यस्तै सांसद हिरा गुरुङले इटहरीका उपमहानगरपालिका मेयरले दुई तिहाइको दम्भ देखाएको आरोप लगाइन् । ‘मेयरलाई फौजदारी अपराधअन्तरत कारबाहीको दायरामा ल्याउनुपर्छ । कानुनी राज्यमा कसैले पनि धम्की दिन सक्दैन’, गुरुङले भनिन् ।

विज्ञापन खारेज गर


त्यस्तै सांसदहरुले लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको पदपूर्तिसम्बन्धी विज्ञापन खारेज गर्न माग गरे। लोकसेवाको विज्ञापन संविधानले प्रदान गरेको समावेशी सिद्धान्तअनुसार नभएको भन्दै खारेज गर्न माग गरेका हुन् ।

जेठ १५ गते सरकारले स्थानीय तहमा कर्मचारी परिपूर्ति गर्न नौ हजार एक ६१ जना प्राविधि तथा अप्राविधिक कर्मचारी माग गरेको थियो । बिहीबारको बैठकमा सांसल विमला विकले आयोगको विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको बताइन् ।

उनले भनिन्, ‘लोकसेवा आयोगको विज्ञापन खारेज गरियोस् । समावेशी भएन । संविधानको मर्म र भावना विपरीतको विज्ञापन तत्काल खारेज गरियोस् ।’ त्यस्तै सर्वत आरा खाँले पनि समावेशी नभएकाले विज्ञापन खारेज गर्न सरकारसँग माग गरिन् ।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्