ओलीको दोहोरो जिम्मेवारीको अडान कायमै, एकता प्रक्रिया फेरि दुई साता धकेलियो

फाइल फोटो

काठमाडौँ–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली दोहोरो जिम्मेवारीको पक्षमा उभिएपछि पार्टीको जिल्ला तहको एकता प्रक्रिया फेरि दुई साताका लागि पर धकलिएको छ ।

ओलीको उक्त अडान पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि विवाद सुल्झाउन बिहीबार बैठक डाकिएको तर ओलीले नै गृहकार्य नपुगेको भन्दै अन्तिम समयमा बैठक स्थगित गरेका थिए ।

आउँदो आइतबारबाट स्वीट्जरल्याण्ड र फ्रान्स भ्रमणमा निस्कन लागेका ओली त्यसको तयारीमा व्यस्त भएकाले कम्तिमा दुई साताका लागि पार्टी एकता प्रक्रिया लम्बिने देखिएको हो।

तर सचिवलायका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो अडान कायमै राखेकोले विदेश भ्रमणको बहाना बनाउँदै जिल्लाको एकता प्रक्रियाबाट तत्काल पन्छिएको दाबी गरे।

स्रोतका अनुसार ओलीले नेपाललगायत नेताहरु आफ्नो अडानबाट पछि हटुन् भन्ने चाहेका छन् । तर नेपालले यसपटक मापदण्ड अनुसार नै पार्टीको तल्लो तहको एकता होस् भन्ने चाहना व्यक्त गरिरहेका छन्।

योग्यता, क्षमता र आवश्यकताअनुसार मन्त्री र सांसदलाई पनि जिल्लाको इन्चार्ज र सहइन्चार्ज बनाउनु पर्छ भन्ने मान्यतामा ओली छन् । नेपाल भने पार्टी एकताका बेला एक व्यक्ति र एक पदको मापदण्ड पालना गर्नु पर्ने बताउँदै आएका छन्।

नेकपाको जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने भन्दै बसेका पछिल्ला दुई सचिवालय बैठक निष्कर्ष विहिन भएको थियो।

बिहीबार पहिले ९ बजे बोलाइएको बैठक ११ बजेका लागि सारिएको जानकारी सदस्यहरुलाई गराइएको थियो तर ११ बजे बालुवाटार पुगेका सदस्यहरुलाई २० मिनेट कुरेपछि बैठक स्थगित भएको ओलीबाट जानकारी आएको थियो। पार्टीका नेता झलनाथ खनालले बिहीबार बैठक स्थगित हुनुले पार्टी एकतामा झन जटिलता थपिएको संकेत गरे।

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्