मेयरको व्यवहार नसच्चिए कडा कदम चाल्ने इटहरी कांग्रेसको चेतावनी

मोरङ-नेपाली कांग्रेस इटहरी उपमहानगर समितिले सार्वजनिक पदको जिम्मेवारी वहन गरेका पदाधिकारीले आफ्नो जिम्मेवारी तथा  व्यवहार नसच्याए कडा कदम चाल्ने चेतावनी दिएको छ।

बिहीबार इटहरीमा पत्रकार सम्मेलनका क्रममा उपमहानगर समितिका सभापति हेमकर्ण पौडेलेले पछिल्लो समय पत्रकार र उपमहानगर प्रमुख द्वारिकालाल चौधरीबीचको घटनामा ध्यानाकर्षण भएको जनाएका छन्।

सरकारका तीन तहबाट मानवधिकार, विधिको शासन र प्रेस स्वतन्त्रता विरोधि काम भइरहेकोमा सभापति पौडेलले आपत्ति जनाए।

सभापति पौडेलले पत्रकार सम्मेलनका क्रममा सार्वजनिक पदमा रहेका मेयर द्वारिका चौधरीलाई बोली व्‍यवहार सच्याउन सुझाव दिएका छन्।

कर्मचारी कुटपिट, पत्रकारमाथिको दुर्व्‍यवहार, भौतिक कार्वाही, सुपारी दिएको जस्ता गैह्रजिम्मेवारी भनाइ र ब्यवहार नसच्याए इटहरी कांग्रेस कडा कदम चाल्न बाध्य हुने चेतावनी सभापति पौडेलले दिए।

अमर्यादित ढंगमा प्रस्तुत हुँदै आएका मेयर चौधरीको विषयमा समेत सभापति पौडेलले भने, ‘उहाँको केही विषय गम्भीर र आम जनसरोकारकाछन्। निश्चित ब्यक्ति र संस्थालाई किटान गरि अभिब्यक्ति दिदैं आएका छन्।

विवादीत व्‍यक्ति र भ्रष्टाचारका विषयमा छानविन गरिनुपर्छ। उहाँ पनि सच्चिनुपर्छ।” केही दिन यता मेयर चौधरीले पत्रकार विराट अनुपमलाई फोनबाट धम्की दिदैं नाकको डाडी भाँच्ने चेतावनी दिएका थिए।जसको चौतर्फी आलोचना हुँदै आएको छ।

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्