प्रचण्डका पीएसओलाई ‘आकर्षक’ ठाउँमा सरुवा

काठमाडौं- सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टी-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यस्ता दुई  विशिष्ट व्यक्तिमध्ये एक हुन् जसको सुरक्षामा नेपाल प्रहरीले नायब उपरिक्षक-डीएसपीको कमाण्डमा प्रहरीको टोली खटाउँछ। नेपाल प्रहरीका डीएसपीको कमाण्डमा निजि सुरक्षा पाउने प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओली बाहेक एक्ला विशिष्ट अधिकारी हुन्।

गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा जोखिम हेरेर निजि सुरक्षामा सुरक्षा टोली खटाउने गरेको छ। यसका लागि विशिष्ट व्यक्ति सुरक्षा कार्यविधी २०७० लाई अवलम्बन गरिन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजि सुरक्षामा नेपाल प्रहरीका नायब निरिक्षक-सईको कमाण्डमा टोली खटिने गरेको छ। पूर्व प्रधानमन्त्रीलाई सईको कमाण्डको टोलीले सुरक्षा दिने व्यवस्था बमोजिम देउवासहितका अन्य पूर्व प्रधानमन्त्रीलाई त्यस्तो सुविधा दिइएको हो।

प्रचण्डको निजि सुरक्षा अधिकृत-पीएसओ बन्न ठुलै लबिङ हुने गरेको छ। त्यसको कारण हो, त्यहाँबाट निस्कँदा हुने मालदार ठाउँमा सरुवा। केही वर्ष प्रचण्डको पीएसओ रहेका तत्कालिन डीएसपी दानबहादुर मल्लले त्यहाँबाट इन्चार्जका रुपमा महानगरीय प्रहरी वृत दरबारमार्गको सरुवा पाएका थिए। प्रचन्डको पीएसओ रहेकै बेला मल्ल प्रहरी निरिक्षकबाट बढुवा भएका थिए।  हाल एसपी रहेका मल्लले चितवनको जिल्ला प्रहरी कमाण्ड सम्हालिरहेका छन्। चितवन प्रचन्डकै निर्वाचन क्षेत्र रहेको जिल्ला पनि हो। प्रचन्ड पुत्री रेणु हाल भरतपुर महानगरपालिकाकी मेयर छिन्।

मल्लपछि प्रचण्डको पीएसओ रहेका डीएसपी सन्तोष राठोरले राजधानीभित्रकै अर्को आकर्षक युनिट मानिने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा इन्चार्जकै रुपमा सरुवा पाएका छन्। प्रहरी प्रधान कार्यालयले गत साता निकालेको डीएसपी सरुवामा राठोरलाई सोह्रखुट्टे लगेको हो। राजधानीका सोह्रखुट्टे र दरबारमार्ग वृतलाई ‘आकर्षक’ ठाउँ मान्ने गर्छन् प्रहरी अधिकारीहरु। यसअघि आफ्नो ब्याचका पहिलो नम्बरका डीएसपी गौतम केसी सोह्रखुट्टेमा थिए।

राठोरको सरुवापछि प्रचण्डको निजि सुरक्षा अधिकृतका रुपमा प्रहरी प्रधान कार्यालयले डीएसपी नरेशराज सुवेदीलाई खटाएको छ। उनी दुई साता अघि मात्र शान्ती मिसनबाट फर्किएका हुन्।   प्रचण्डको नयाँ पीएसओ बन्न ठुलै कसरत भएको सुरक्षा अधिकारीहरु बताउँछन्।  ‘ठुला राजनीतिक नेताको पीएसओ बन्न पाइयो भन्ने पावर एक्सरसाइज गर्न सजिलो हुने टिप्पणी सुन्ने गरिन्छ। यस्तो अवस्थामा आकर्षक ठाउँमा हुने सरुवाले ती नेताको पीएसओ बन्न हुने लबिङलाई स्वभाविक बनाउँछ। राजनीति प्रभाव प्रष्ट हुन्छ’, नेपाल प्रहरीकै एक पूर्व एआइजी भन्छन्। कुनैपनि युनिट आफैमा ‘मालदार’ नहुने ती अधिकारीको बुझाई छ।

‘सबैलाई एउटै बास्केटमा राखेर हेर्न मिल्दैन। जोखिम बढी हुने ठाउँमा अवसर पनि धेरै हुन्छ। तर अवसरलाई कुन रुपमा सदुपयोग गर्ने भन्ने हो’, सोह्र खुट्टे र दरबारमार्ग वृतको सन्दर्भ कोट्याउँदै उनी भन्छन्।

 

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्