जथाभावी उत्खननको विरोध, स्थानीयले टिप्पर नियन्त्रणमा लिए

बुटवल-रुपन्देहीको तिनाउ नदीमा जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले टिप्पर र जेसीबी नियन्त्रणमा लिएका छन्।

सम्झौता विपरीत उत्खनन् भएपछि खोलामा पुगेका टिप्पर र जेसीवी नियन्त्रणमा लिइएको उनीहरुले बताएका छन्। बुटवल उपमहानगरपालिका वडा नं. १७ का बासिन्दाले जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै रोकेका छन्।

बिहीबार बिहानै बुटवल वडा नम्बर १७ का अध्यक्ष सन्तबहादुुर रानाको नेतृत्वमा आएको स्थानीय सहितको टोलीले तिनाउ नदीमा जथाभावी उत्खनन् भएको भन्दै ८ टिप्पर र २ जेसीबी नियन्त्रणमा लिएका छन्।

बस्तीलाई जोखिममा पारेर ठेकेदारले जथाभावी उत्खनन् गरेको भन्दै टिप्पर र जेसीबी नियन्त्रणमा लिइएको हो। बुटवलको वडा नं. ११ र १७ को बीचबाट बग्ने तिनाउ नदीमा उत्खनन् हुँदा वडा नं. १७ मा मात्रै बढी उत्खनन् भएपछि विरोधमा उत्रिएको वडाअध्यक्ष सन्तबहादुर रानाले बताए।

दुई दिनअघि मात्र सोही क्षेत्रबाट वडा नं. १७ ले नै ४ सय घनमिटर नदीजन्य पदार्थ सम्झौता अनुसार लगेको थियो।

वडा नं. १७ ले लगेकै स्थानबाट राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल र उपमहानगरपालिका आफैलाई आवश्यक नदीजन्य पदार्थ उत्खनन् गर्दैगर्दा स्थानीयले अवरोध गरेका हुन्।

स्थानीयले समान रुपमा वडा नं. ११ तर्फ पनि उत्खनन् हुनुपर्ने बताउँदै आएका छन्। वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले वडा नं. ११ तर्फ पनि उत्खनन् हुन लागेको अवस्थामा वडाअध्यक्षले नै स्थानीयलाई अवरुद्ध गर्न लगाएको आरोप लगाए।

नियन्त्रणमा लिइएका टिप्पर र जेसीबी औद्योगिक सुरक्षा बल मोतीपुरमा राखिएको छ। दुई वडा अध्यक्षबीच समन्वय नहुँदा नदीजन्य पदार्थ उत्खनन् जथाभावी भएको स्थानीय बताउँछन्।

त्यसैले दुई वडाका जनप्रतिनिधिहरु आरोप प्रत्यारोपमा लाग्नुको सट्टा समाधानको उपायमा लागेर गौरवको आयोजनामा जाने नदीजन्य पदार्थ तत्काल उत्खनन् गराउने वातावरण बनाउन बुद्धिजीवीले सुझाव दिएका छन्।

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्