कुदान क्षेत्रकाे शिवलिंग फुटाइयो

बुटवल– ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको कपिलवस्तुको कुदान क्षेत्रमा रहेको शिवलिंग फुटेको छ।

कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तु आउँदा आफ्ना मातापिता तथा परिवारलाई भेट गरेको स्थान हो।

कुदानमा बौद्धकालीन संरचनामाथि रहेको शिवलिंगको माथिल्लो भाग गत जेठ १३ गते नै भत्किएको थियो।

तर उक्त घटनालाई गुपचुप पारिएका कारण बाहिर आउन सकेको थिएन। शिवलिंग भांचिएपछि कुदान क्षेत्रमा लुम्बिनी विकास कोषले चौकीदार दिनेश दुवेलाई बर्खास्त गरेको छ।

गत १३ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कुदान क्षेत्रमा ड्युटीमा रहेका चौकीदार दुवेको ड्युटी समयमा शिवलिंग फुटालिएको ठहर गर्दै उनलाई सेवाबाट बर्खास्त गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

गत १० गतेबाट कुदान क्षेत्रमा दिनभर जसो ६/७ जना कामदारहरु बिहान ७ बजेदेखि साँझ ६ बजे सम्म काम गर्दै आएका छन् । तर शिवलिंग कसले कसरी फुटायो भन्ने आफूहरुलाई कुनै जानकारी नरहेको पुरातात्विक संरचना मर्मत संभारमा कार्यरत कामदारहरु बताउँछन्।

घटनाबारे आफूले सञ्चारकर्मीहरु मार्फत जानकारी पाएको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताए। फुटालिएको शिवलिंगको तत्काल संरक्षण गरी सोही स्थानमा व्यवस्थित गरिएको पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्