यातायात समितिको चरम लापरबाही

उपचार रकम नदिएपछि दुर्घटनाका घाइतेलाई अस्पतालले बन्धक बनायो

बुटवल-दुर्घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था गर्नुपर्ने यातायात समितिले गम्भीर लापरबाही गरेपछि घाइतेहरु अस्पतालमा बन्धक बनेका छन्।

रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज अफ साइन्सेजले दुर्घटनाका घाइतेलाई उपचार रकम नदिएको भन्दै बन्धक बनाएको छ।

बुधबार साँझ कपिलवस्तुको पकडीमा मलामी बोकेको सिद्धार्थ यातायात व्यवसायी संघमा आवद्ध लु १ ख ७७५२ नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका २५ जना बिरामी उपचारका लागि मेडिकल कलेज पुगेका थिए। तीमध्ये ६ जनालाई गम्भिर चोट लागेको छ।

यातायात समितिले बिरामीको उपचारमा वास्ता नगरेपछि घाइतेहरु छटपटिएका छन्। यातायात समितिले बिरामीको उपचारमा चासो दिनुको सट्टा उपचार खर्च दिन आनाकानी गरिरहेको छ।

अस्पतालले प्राथमिक उपचार गरेर पैसाको ग्यारेन्टी नभएसम्म अन्य उपचार नगर्ने बताउँदै आएको छ। अस्पतालमा रहेक बिरामी कृष्ण केसीले डिस्चार्ज हुने बिरामी समेत बन्धक बस्नु परेको बताए। ‘सामान्य घाइतेहरु घर जान चाहान्छौँ तर अस्पतालले निस्किन दिएको छैन’– उनले बिहिबार साँझ भने।

दुर्घटनामा वसन्त पुलामी, वीरबहादुर जिसी, मुक्ति पत्थरकट्टा, शंकर चौधरी, लिलाराम भण्डारी, अनिल खड्का गभ्मिर घाइते छन्। तीमध्ये अनिल खड्काको मात्रै थप उपचार थालिएको छ। उनको आफन्तले २० हजार धरौटी जम्मा गरेपछि उपचार थालिएको हो।

गाडी धनी जीवन पाण्डेले समितिले वेवास्ता गर्दा बिरामी अलपत्र परेको बताए। ‘चलानी काटेर गाडी चलाएका हौँ, अहिले समितिले मतलव नै गरेको छैन’, उनले भने। अस्पतालका प्रशासकीय अधिकृत तेज कुमार केसीले उपचार खर्चको ग्यारेन्टी नभएकाले बिरामीलाई डिस्चार्ज नगरिएको बताए। ‘बिरामीलाई घर पठाएपछि पैसा कसले तिर्छ?’, उनले प्रश्न गरे, ‘हामीले त उपचारको पैसा तिर जाऊ भनेका हौँ।’ उनले दुर्घटनाको दिन बिरामीको उपचार भने नरोकिएको बताए।

सिद्धार्थ यातायात व्यवसायी संघका अध्यक्ष सञ्जित रोकाले चालकको लापबाहीले दुर्घटना भएकाले क्षतिपूर्तिको विषयमा केही समय लागेको दावी गरे। ‘ठूलो उपचारको खर्च कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भने,‘सानो उपचारका बिरामीलाई घर पठाउन थालेका छौँ।’

घाइतेहरुले भने तत्काल उपचारको व्यवस्था गर्न गुहार मागेका छन्। ‘हड्डी भाँचिएका बिरामीहरु बेडमा छटपटाएका छन्, अहिलेसम्म उपचार भएको छैन’– सामान्य अवस्थामा रहेका कृष्ण केसीले भने। रुपन्देहीको मायादेवी गाउँपालिकाबाट शव बोकेर कपिलवस्तुको रामघाट पुगेर फर्किदै गर्दा गाडी दुर्घटनामा परेको थियो।

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्