भारतीय आर्मी बनाइदिन्छु भन्दै ३८ लाख ठग्‍नेलाई मुद्दा

नेपालगञ्ज– नेपालगञ्जमा चलिरहेको भारतीय सेनाको भर्ना छनौटमा लिखित परीक्षाको प्रश्न पत्र ‘आउट’ गरिदिने भन्दै जनही एक/एक लाख उठाएको आरोपमा बाँके प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर ठगी मुद्दा चलाएको छ।

नेपालगञ्जको एक होटलमा बसेका रामकाजी पाण्डे, अर्जुन पौडेल, निरबहादुर थापा, सुजाता पाठक र शर्मिला अधिकारीको कोठाबाट प्रहरीले ३८ लाख १० हजार रुपैयाँ बरामद गरेको थियो। उनीहरुले त्यो पैसा भारतीय सेनामा भर्ना हुन आएका व्यक्तिबाट उठाएको प्रहरीले बताएको छ।

वडा प्रहरी कार्यालयका इन्चार्ज नारायण डाँगीको टोलीले उनीहरुलाई पैसासहित मंगलबार राती होटलबाट नियन्त्रणमा लिएको थियो। दुई जना महिला बसेको एउटा कोठा र तीन जना पुरुष बसेको दुईवटा कोठाबाट पैसा बरामद भएको थियो।

तीन पुरुष र दुई महिलालाई पैसासहित नियन्त्रणमा लिएको प्रहरीलाई उजुरी दिने मान्छे नआइदिँदा समस्या भएको थियो। यहीबीचमा दुई जनाले उजुरी दिएपछि प्रहरीलाई कारबाही गर्न सहज भएको हो। प्रहरीले त्यो दिन अरु दुई जनालाई समेत नियन्त्रणमा लिएको थियो। पोखराका चल्तापुर्जा उनीहरुलाई छोडिएको छ।

पैसा बरामद भएको होटलकै हल बाहिर रहेका उनीहरु त्यो होटलमा नभई अर्को होटलमा बसेका थिए। बाँके प्रहरीले उनीहरुको साथबाट पैसा बरामद नभएको भन्दै छोडेको छ। स्रोतले उनीहरु सबै जाँचोपाँजो मिलाउने मध्येकै हुन्। बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले पाँच जनाको कोठाबाट पैसा बरामद भएकोले ठगीमा मुद्दा चलाएको बताए।

उनले अरु दुई जनालाई सार्वजनिक मुद्दा चलाएको जानकारी दिए। ‘उनीहरुको साथबाट पैसा बरामद भएको थिएन। हामीले उनीहरु पनि त्यो काण्डमा मिलेका छन् भन्ने आशंका छ। त्यही सार्वजनिक चलाएका छौँ। कोहीले उजुरी दिएमा उनीहरुलाई पनि ठगीमा मुद्दा चलाउँछौँ’, एसपी पौडेलले भने। एसपी पौडेलले ठगीमा परेकाहरुलाई उजुरी दिन आव्हानसमेत गरेका छन् ।

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्