सभामुख महराले नै गरे संसदमा फेरि ‘गम्भीर’ गल्ती

काठमाडौँ – संसदको बैठक सञ्चालनको क्रममा त्रुटी गर्दै आएका सभामुख कृष्णबहादुर महराले बिहीबार फेरि अर्को गम्भीर गल्ती दोहोर्याएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा जेठ १५ गते पेश भएको बजेटमा सामान्य छलफल सकेर अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने र आश्रित विधेयक पेश गर्ने कार्यसूची थियो ।

कार्यसूचीअनुसार पहिलो बैठक सकियो र दोस्रो बैठक बस्ने गरी स्थगित भयो । दिउँसो २ः३० बजे सुरु भएको दोस्रो बैठकको कार्यसूची थियो ः अर्थमन्त्री डा. युवराज खतिवडाले “विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।

तर, सभामुख महराले अर्थमन्त्री युवाराज खतिवडालाई प्रस्ताव प्रस्तुत गर्नै नदिइ प्रक्रिया मिचेर एकैपटक छलफल सुरु भएको घोषणा गरे र सांसदहरुलाई बोल्न नाम टिपाउन भने ।

पहिलो वक्ता रुपमा नेमकिपाका सांसद प्रेस सुवाललाई बोल्न समय दिए । त्यसपछि कांग्रेसका लक्ष्मी परियार, दिलेन्द्रप्रसाद बडूलगायतले धारणा राखे ।

सभामुख महराले एकैपटक छलफल सुरु भएको घोषणा गरेपछि प्रस्ताव पेश गर्न तम्मतयार भएर बसेका अर्थमन्त्री युवराज खतिवडा अलमलिदै आफूभन्दा अघिल्लो कुर्सीमा बसेका कानुनमन्त्री भानुभक्त ढकाललाई कोट्याएर कानेखुशी गरे ।

ढकालसँगको कानेखुशीपछि सहज जस्तो अनुभव गरे पनि उनी अलमलमा परेको प्रष्टै देखिन्थ्यो । उता प्रतिपक्षी कांग्रेसाक सांसदहरु पनि प्रस्ताव नै पेश नगरी छलफल सुरु भएपछि अलमलमा परे ।

संसदमा सक्रिय हुने सांसद मीनेन्द्र रिजाल पनि पछाडि फर्किएर सांसदहरु दिव्यमणि राजभण्डारी र सुजाता परियारसँग कुराकानी गरे । तर पनि उनले नियम आपत्ति गर्न चाहेनन् वा नियमावली मिचिएको पत्तो पाएनन् ।

सभामुख महराले प्रस्ताव नै पेश नगरी गराएको छलफल प्रतिनिधिसभा नियमावली २०७५ को दफा ६१ तथा संसदीय अभ्यासविपरीत रहेको पाइएको छ । नियमावलीको दफा ६१ म उल्लेख गरिएको छ, ‘संविधान र यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक कुनै पनि विषयमाथि प्रस्ताव बिना बैठकमा छलफल गर्न सकिने छैन ।’

छलफलपछि सभामुुख महराले विचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ पेश गरे र बहुमतले पारित भएको घोषणा गरे ।

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भए पनि नियमविपरीत आफैंले प्रस्ताव अघि बढाएको थाहा पाएपछि महराले संसद भवन बानेश्वरमै कार्य व्यवस्था परामर्श समितिका सदस्यबीच छलफल भएको थियो ।

बैठकमा प्रस्ताव नै पेश नगरी छलफल सुरु गर्नु गल्ती भएको सभामुख महराले स्वीकार गरे र नियमावलीले सदनको काम कारबाहीको अन्तिम निर्णय गर्ने अधिकार सभामुखलाई नै दिएको जिकिर गर्दै त्यसबारे थप केही नगर्ने निष्कर्ष बैठकले निकाल्यो ।

पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखबाट भएको गल्तीबारे टिप्पणी गर्न चाहेनन् । बैठकपछि दलको कार्यालय सिंहदरबामा भेटिएका नेम्वाङले भने, ‘नियमअनुसार संसद चल्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’

गत वर्ष पनि सभामुख महराले विनियोजन विधेयकमाथि मन्त्रालगत छलफल चलिरहँदा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराएर आलोचना खेपेका थिए । २०४८ सालदेखि २०५६ मा बाहेक सधैं सांसदका रुपमा रहे पनि सभामुखका रुपमा भने महराको कार्यशैली परिपक्क हुन सकेको छैन ।

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्