सुदूर पश्‍चिमको हावाहुरी बर्दिया र दाङतर्फ बढ्दै, सतर्क रहन आग्रह

काठमाडौं- सुदूरपश्‍चिम प्रदेशको कैलाली र कञ्‍चनपुरमा वितण्डा मच्चाएको हावाहुरी पूर्वतर्फ बर्दिया र दाङतर्फ पनि बढ्दै गएपछि सतर्क रहन राष्ट्रिय आपतकालीन कार्य सञ्‍चालन केन्द्रले आग्रह गरेको छ।

गृहमन्त्रालय अर्न्तगतको राष्ट्रिय आपतकालीन कार्य सञ्‍चालन केन्द्रले ट्विट मार्फत हावाहुरी विस्तारै पूर्वतिर बढ्‍दै गएकाले सर्तकता अपनाउन आग्रह गरेको हो।

हुरीबाट कति क्षति ?

कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा हावाहुरीमा परी एकजनाको मृत्‍यु भएको छ भने ६३ जना घाइते भएका छन्।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारी अनुसार बिहीबार ८: ४० बजेतिर आएको हावाहुरीमा परी तीन जनाको अवस्था गम्भीर रहेको छ।

यसका साथै हावाहुरीले घरको छाना उडाएको छ भने खेतवालीमा क्षति पुर्‍याएको छ। हावाहुरी लगत्तै जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण संकलन र उद्धार कार्यमा जुटेको छ।

हुरीले सबैभन्दा धेरै धनगढी उपहानगरपालिकाकामा क्षति पुगेको छ भने बिजुलीका पोलहरु र रुख ढलेर विद्युत सेवा बन्द भएको छ।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्