नेइमारमाथि बलात्कार आरोप लगाउने महिला टेलिभिजनमा

‘नेइमारसँग यौन सम्पर्क कायम गर्न चाहन्थेँ… तर बलात्कार गरे’

विश्वका महंगा फुटबलर नेइमार अहिले आफ्नो खेल जीवनको शायद सबैभन्दा कठिन समयबाट गुज्रिरहेका छन् । लगातारको चोटका कारण नेइमारले राम्रोसँग खेल्न पाएका छैनन् । त्यसमाथि पछिल्लो समय एक महिलाले उनीमाथि यौन हिंसा र बलात्कारको आरोप लगाएपछि नेइमार थप समस्यामा परेका छन् ।

ब्राजिलकी एक महिलाले नेइमारमाथि यौन हिंसा तथा बलात्कारको आरोप लगाउँदै साओ पाओलोमा उजुरी दर्ता गरेकी छन् । गएको मे १५ मा आफूमाथि पेरिसको एक होटलको कोठामा नेइमारले यौन हिंसा गरेको आरोप ती महिलाले लगाएकी हुन् । नेइमारले भने सबै आरोप अस्वीकार गर्दै आएका छन् । नेइमारमाथि आरोप लगाउने महिला टेलिभिजन अन्तर्वार्ता मार्फत सार्वजनिक भएकी छन् ।

नाजिला ट्रिन्डाडी नाम गरेकी ती महिलाले ब्राजिलियन टेलिभिजनमा अन्तर्वार्ता दिएकी हुन् । एसबिटी ब्राजिल टेलिभिजनसँगको अन्तर्वार्तामा उनले नेइमारले आफूलाई यौन दुर्व्यवहार र बलात्कार गरेको दाबी गरेकी छन् । वक्तव्य जारी गरेर घटना अस्वीकार गरेका नेइमारले ह्वाट्सएप म्यासेज मार्फत पनि आफू निर्दोष रहेको उल्लेख गरेका छन् ।

नेइमार बुधबार ब्राजिलको कतारसँगको खेलमा केही मिनेट खेलेका थिए । उनले आफू खेल जीवनकै कठिन समयमा रहेको बताएका थिए । ब्राजिलियामा भएको कतारसँगको खेलमा उनी २० मिनेटपछि चोटग्रस्त भएका थिए र मैदानबाट बाहिरिए । उनको एंकलको गिमेन्टमा समस्या देखिएको छ र उनी कोपा अमेरिकामा खेल्न सक्ने सम्भावना नरहेको बताइएको छ ।

नेइमारलमाथि बलात्कारको आरोप लगाउने महिला ट्रिन्डाडीले टेलिभिजन अन्तर्वार्ताको क्रममा आफू पिएसजी तथा ब्राजिलका खेलाडी नेइमारसँग आकर्षित भएको र उनीसँग यौन सम्बन्ध कायम गर्ने इच्छाले पेरिस पुगेको बताएकी छन् ।

नेइमारकै खर्चमा आफू पेरिस पुगेको र होटलमा बसेको उनले बताएकी छन् । उनले आफू सामान्य व्यक्ति रहेको र एक विद्यार्थी, एक छोरी र एक आमा रहेको उल्लेख गरेकी छन् ।

अन्तर्वार्ताको क्रममा उनले आफू दर्व्यवहार र बलात्कार दुवैमा परेको दाबी गरेकी छन् । आफूले भेट्दा नेइमार आक्रोशित र म्यासेजमा कुरा गर्दाको भन्दा पूर्ण भिन्न पाएको उनले दाबी गरेकी छन् ।

सुरुमा आफू सहमतिमै यौन सम्पर्कका लागि तयार भएको र नेइमारलाई कण्डम प्रयोग गर्न भनेको उनले उल्लेख गरेकी छन् । तर नेइमारले कण्डम प्रयोग गर्न अस्वीकार गरेको र आफूले प्रयोग गर्न जोड दिँदा उनी आक्रोशित भएको ती महिलाले बताएकी छन् । त्यसपछि आफूले अस्वीकार गर्दा गर्दै पनि नेइमारले यौन सम्बन्ध कायम गरेको दाबी उनको छ ।

यस्तै नेइमार र ट्रिन्डाडीबिच होटलको कोठामा भएको विवाद सम्बन्धी एक भिडियो पनि सार्वजनिक भएको छ, जुन आरोप लगाउने महिलाले नै खिचेको बताइन्छ ।

भिडियोमा दुवै जना ओच्छ्यानमा देखिन्छन्, केही समयपछि महिला उठेर पुरुषलाई हिर्काउन थाल्छिन् । पुरुषले आफूलाई जोगाउने प्रयास गरिरहेको देखिन्छ । भिडियोमा महिलाले भनेको सुनिन्छ, म तिम्लाई पिट्दैछु, किन थाहा छ, किनकी हिजो तिम्ले मलाई पिटेका थियौ । यसले यो घटना दोस्रो दिनको बताउँछ । नेइमारले यसअघि नै आफूहरुबिच दुई पटक भेट भएको बताएका थिए ।


अन्तर्वार्ताको क्रममा ती महिलाले आफूमाथि यौन हिंसा तथा बलात्कार भएको कुरा पहिलो दिनको भेटघाट समाप्त भएपछि मात्रै थाहा पाएको र प्रमाण तथा न्यायका लागि दोस्रो दिन गएको दाबी गरेकी छन् ।

नेइमारले महिलाको टेलिभिजन अन्तर्वार्ताका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर नेइमारका पिता नेइमार डस सान्तोसले अन्तर्वार्ताका क्रममा प्रशारण गरिएको भिडियोबाट यो सबै घटना पूर्व नियोजित रहेको र आफ्नो छोरा निर्दोष रहेको प्रष्ट हुने बताएका छन् । यसअघि नेइमारको टिमले वक्तव्य जारी गरेर मिलेमतोमा नेइमारबाट ठूलो रकम हत्याउने चाहका साथ गलत आरोप लगाइएको बताएको थियो ।

नेइमारले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा आफूहरुबिच त्यो दिन एक सामान्य जोडीबिच हुने जस्तै सम्बन्ध भएको र दोस्रो दिन ती महिलाले आफ्नो सन्तानका लागि निशानी मागेको बताएका छन् । आफूहरुबिच लामो कुराकानी भएको र इन्टिमेट तस्बिरहरु पनि रहेको बताएका छन् ।

ती महिलाले भने आफूले आर्थिक स्वार्थका लागि नभई न्यायका लागि उजुरी दिएको बताएकी छन् ।

यसैबिच ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले नेइमारलाई अस्पतालमा गएर भेटेका छन् । बुधबार अस्पताल गएर राष्ट्रपतिले नेइमारलाई छिटो रिकभर हुनका लागि कामना गरेका छन् । भेटपछि राष्ट्रपतिले नेइमार अहिले अप्ठ्यारो समयमा रहेको र आफूलाई उनीमाथि विश्वास रहेको बताएका छन् ।

जेठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्