गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठसहित)

पोखरा-गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। प्रदेश प्रमुख बाबुराम कुँवरले शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, वन वातावरण, विज्ञान प्रविधि, स्वास्थ्य, खेलकूद लगायत पक्षमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएको छ।

विज्ञापन

पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको सरकारले गुरुयोजना तयार गरी स्पष्ट योजना सहित पर्यटन क्षेत्रको एकिकृत विकास गर्ने उल्लेख छ। गण्डकी प्रदेशलाई ‘पर्यटन हब’ र पोखरालाई नेपालको ‘पर्यटकीय राजधानी’को रुपमा विकास गरिने प्रदेश प्रमुख कुँवरले नीति तथा कार्यक्रम मार्फत जानकारी दिए।

पोखरा–काठमाडौं–लुम्बिनीलाई गौतम बुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गर्न संघीय सरकार र अन्तर प्रदेश सहकार्यमा जोड दिइने सरकारको योजना छ।

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी सञ्चालन गरिरहेको सरकारले सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन गर्ने भएको छ। त्यस्तै, सन् २०२२ सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

मुस्ताङ, मनाङ र उत्तरी गोरखालाई फिल्म सिटी र विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने नीति प्रदेश सरकारले सार्वजनिक गरेको छ।
मन्त्रीपरिषदको पहिलो बैठकबाट गरिएको संकल्प ‘गण्डकी प्रदेश–उज्यालो प्रदेश’लाई आगामी १ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य कार्यक्रममा उल्लेख छ।

प्रदेश सरकारले आगामी ३ वर्षमा मुख्य उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ। कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकिकरणको प्रयोग बढाई ५ वर्षमा खाद्यान्न उत्पादन दोब्बर बनाइने प्रदेश प्रमुख कुँवरले जानकारी दिए।

कृषकलाई परिचयपत्र र वर्गीकरणको आधारमा कृषकलाई दिइने सेवा प्रभावकारी बनाइने कार्यक्रममा भनिएको छ। त्यस्तै, कृषि, बागबानी, मत्स्य र पशुपक्षी पालन गर्ने क्षेत्र नक्सांकन गरी कृषि बगैंचा निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने सरकारको लक्ष्य छ।

एक वडा–एक नमूना व्यावसायि कृषि र एक पालिका–एक उत्पादन कार्यक्रम र मोडेल फार्म सम्बन्धी कार्यक्रमलाई सरकारले यसवर्ष पनि निरन्तरता दिएको छ। खाद्य वस्तुमा शुद्धता कायम गर्न सरकारले अर्गानिक कृषि उपज प्रमाणिकरण प्रयोगशाला स्थापना गर्ने प्रदेश प्रमुख कुँवरले जानकारी दिए।

स्याउ उत्पादनमा आत्मनिर्भर हुन संघ सरकारसँगको समन्वयमा मनाङ, मुस्ताङ, गोरखाको धार्चे र चुमनुब्रीलाई स्याको सुपर जोनको रुपमा विकास गर्ने कार्यक्रममा उल्लेख छ। युवाहरुलाई कृषिमा आकर्षण बढाउन युवा लक्षित व्यावसायिक कृषि तथा पशुपक्षी तालिम कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ।

एक सहकारी एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई कृषि क्षेत्रमा प्रभावकारी बढाइने भएको छ। एक स्थानीय तह एक उद्योग ग्रामको नीतिलाई यस पटक निरन्तरता दिइएको छ। प्रादेशिक औद्योगिक स्थापनाका लागि कास्की र नवलपुरमा प्रक्रिया अघि बढ्ने भएको छ।

उद्योग व्यवसाय प्रवद्र्धन गर्न निजी क्षेत्रसँगको सहकार्यमा बिजनेस इन्कुबेशन सेन्टरको स्थापना गरी सञ्चालनमा ल्याइने सरकारको योजना छ। सार्वजनिक निजी आर्थिक संवाद र सहकार्यलार्य सशक्त बनाउन प्रदेश व्यवसाय मञ्च स्थापना गरी सञ्चालनमा ल्याइने कार्यक्रममा उल्लेख गरिएको छ।

विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र आविष्कारका लागि विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना हुने भएको छ। सबै स्थानीय तहलाई इन्टरनेटको पहुँचमा पु¥याउन ब्रोड ब्याण्ड नेटवर्क विस्तार गर्न सार्वजनिक निजी साझेदारी नीति अन्तर्गतका कार्यक्रम ल्याइने उल्लेख गरिएको छ।

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ। बृहत पोखरा चक्रपथ र पोखरा–भिमाद–दुम्कीबास दु्रतमार्ग तथा शालिग्राम साँस्कृतिक कोरिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी यसैवर्ष देखि कार्यान्वयनमा ल्याइने भएको छ।

आगामी एक वर्षभित्रमा प्रदेशबासीका हरेक घरमा एक खानेपानी धारा पुर्‍याइने भएको छ। प्रदेशलाई स्वच्छ, सफा र हराभरा बनाउन आधुनिक प्रविधियुक्त फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरिने भएको छ।

सरकारले आगामी २ वर्षभित्रमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने कार्यक्रममा उल्लेख गरिएको छ।प्रदेशले जनशक्ति उत्पादनका लागि गण्डकी विश्वविद्यालय स्थापना गरी प्राविधिक र व्यावसायिक शिक्षा विकास गर्न गण्डकी प्राविधिक प्रतिष्ठानको स्थापना गरी सञ्चालन गर्ने योजना बुनेको छ।

स्थानीय तहसँगको सहकार्यमा मातृभाषामा पठनपाठनको व्यवस्था मिलाउने नीति लिइएको प्रदेश प्रमुख कुँवरले जानकारी दिए। त्यस्तै, सरकारले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने भएको छ।

प्रदेशमा सुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला, क्रिकेट रंगशाला, गल्फल कोर्स, उच्च उचाई (हाइ अल्टिच्यूड) खेलकूद तालिम केन्द्र लगायत पूर्वाधार तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएको छ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरद्वारा प्रस्तुत आगामी वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम


जेष्ठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्