प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रतिपक्षको टिप्पणीः नारा र कुरामा ‘डिस्टिन्सन’

पोखरा-गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख बाबुराम कुँवरले आगामी आवका लागि प्रदेश सरकारले पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, वन वातावरण, विज्ञान प्रविधि, स्वास्थ्य, खेलकूद लगायत पक्षमा विशेष जोड दिएर कार्यक्रम ल्याइएको जानकारी दिए।

प्राथमिकताका आधारलाई प्रदेश सरकारले यसवर्ष निरन्तरता दिएको पनि ठोस नीति ल्याउन नसकेको भन्दै प्रतिपक्षी दलका नेताहरुले सरकारको आलोचना गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपालीले सरकारले धेरै विकासका कुरा कल्पना गरेपनि ठोस मार्गचित्र कोर्न नसकेको बताए।
‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पराम्परागत छ । विगतका कुराहरु उल्लेख गर्ने र आगामी दिनमा यस्तो गर्छौ भन्ने छ।

सरकारले आगामी वर्षमा यो क्षेत्रमा यस्तो काम गर्छु ठोस रुपमा आउनुपथ्र्यो,’ उनले भने, ‘एउटा कल्पना गरियो मार्गचित्र ठोस देखिएन।’
समाजलाई अघि बढाउन लक्षित वर्गहरुलाई अघि ल्याइने कुरा नीतिमा समावेश गरिएपनि लक्षित वर्ग किटान गर्न नसकेको उनले सुनाए।

उनले भने, ‘पहाडी क्षेत्रमा दलित वर्ग छन् । गाउँठाउँमा जातिय विभेद, छुवाछुतका कुराहरु छन् । यसलाई अन्त्य गर्न सरकारले एउटा अभियानका रुपमा लानु पर्दथ्यो । मधेसमा रहेका बोटे, माझी, मुसहर जातिको उल्लेख गरिएको छैन।’

नीति तथा कार्यक्रम पढेको सुन्दाखेरी मन खुसी नहुनुपर्ने कुनै कारण नभएपनि अहिलेसम्मको आधार हेर्दा सरकारले कार्यान्वयन गर्न सक्नेमा पर्याप्त शंका भएको नयाँ शक्ति नेपालका सांसद हरिशरण आचार्यले बताए।

‘गरिबीलाई १४ बाट ७ प्रतिशतमा झार्ने भनिएको छ र ७ प्रतिशतको आर्थिक वृद्धिदरलाई १० पुर्‍याउने नीति लिइएको छ,’ उनले भने, ‘तर अहिलेसम्मको आधार हेर्दा प्रदेशमा भएका जनशक्तिका र कार्यसञ्चालन सुधारका स्थिती हेर्दा खेरी नीति अनुसारको कार्यप्रगति हुन सक्ने आधार हामी १ प्रतिशत पनि देख्दैनौं।’

सरकारले भनिरहेको नारा र कुरामा हेर्दा नीति तथा कार्यक्रम ‘डिस्टिन्सन’ प्राप्त गरेको उनले बताए। उपलब्धि हाँसिल गर्छ भन्ने कुरामा विश्वस्त हुन नसकेको उनको तर्क छ ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले विगतको नीति तथा कार्यक्रमलाई सरकारले निरन्तरता दिएको बताए। ‘ठोस र उल्लिखित रुपमा त्यति पोइन्टेड कार्यक्रमा हुन सकेन,’ उनले भने, ‘अलि छरिएर आएको जस्तो । पूर्वाधार, कृषि लगायतका कार्यक्रमहरु विस्तृतमा आउनु पर्दथ्यो । अनुसन्धान, तालिममै केन्द्रीत भयो ।’

अमूर्त कार्यक्रममा जनताले विश्‍वास गर्दैनन्: मेयर जिसी


पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले दोस्रो वर्षमा प्रवेश गर्दै गरेको प्रदेश सरकारले ल्याएको आगामी आवको नीति तथा कार्यक्रमले सबै विषयलाई छोएको प्रतिक्रिया दिए।

‘नीति तथा कार्यक्रमअनुसारको बजेटले थेग्ने हो भने सकारात्मक नै भन्नुपर्छ,’ उनले भने, ‘तर, कार्यक्रम ठोस आउनुपथ्र्यो अलि अमूर्त आयो। हाम्रा नागरिकहरुले गर्दै छु, प्रत्यन्त हुँदै छ भन्ने खालका कुरामा विश्वास गर्दैनन् । यस वर्ष ठ्याक्कै गर्ने काम के हो ? त्यसकिसिमको आएन।’

सरकारले ल्याएको प्रदेशमा एक घर एक धारा कार्यक्रमलाई उल्लेख गर्दै मेयर जिसीले उक्त नीति पनि अमूर्त देखिएको सुनाए। ‘कति घरमा धारा पुग्न बाँकी छ, अब १ वर्षभित्रमा यति घरलाई दिइने छ भन्ने खालको ठोस आउनु जरुरी थियो। त्यो सुनिएन।’

जेठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्