विकासमा सहयोग

बाटो फराकिलो पार्न आफ्नै घर भत्काउने वडासदस्य – बिरातीदेवी

वीरगञ्ज– विकास निर्माणका लागि आफ्नो घर भत्काउनु पर्‍यो भने कसैले पनि सजिलो गरी मान्दैनन्।

अझ बाटोका लागि जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको घर भत्काउनु पर्ने अवस्था आयो भने त उनीहरु आफ्नो पहुँच लगाएर पनि त्यसलाई रोक्न हरसम्भव प्रयास गर्छन्।

तर वीरगञ्ज महानगरपालिकाकी एक वडा सदस्यले बाटो विस्तारको क्रममा आफनो पनि घर परेपछि सबै भन्दा पहिला आफ्नै घर भत्काएर बाटो विस्तारमा सहयोग गरेकी छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० की महिला वडा सदस्य बिरातीदेवी पासवानले बाटो निर्माणको क्रममा स्थानीयले आफ्नो घर भत्काउन नमानेपछि सबैभन्दा पहिला आफ्नो घर भत्काएकी हुन्।

स्थानीयले घर भत्काउन नमान्दा बाटो विस्तारको काम रोकिएपछि आफ्नो घर भत्काएको उनले बताइन्। बाटोमा परेको घर भत्काउन वडा कार्यालयबाट बारम्बार ताकेता गर्दापनि स्थानीयले नमानेको उनको भनाई छ।

‘एक महिना पहिले नै नापी भएर सडकमा परेका घर भत्काउन स्थानीयलाई हटाउन भनेका थियौँ’, पासवानले भनिन्,‘तर अटेरी गर्दा सडक निर्माण कार्य नै रोकिएको थियो।

आफूले बाटोमा परेको आफ्नो घर भत्काएपछि स्थानीयले पनि आफ्ना घर भत्काउन सुरु गरेको उनले बताइन्। स्थानीय तहकाे चुनावमा पासवान नेकपाबाट दलित महिला सदस्यमा उठेकी थिइन्। बाटाे बढाउने क्रममा उनकाे घरकाे काेठा र उक्लने भर्‍याङ परेकाे छ।

वडा कार्यालयको पाँच लाख रुपैयाँको लागतमा बाटोको ढलान गरिने वडा अध्यक्ष अमानत अन्सारीले बताए।