बेनी नगरपालिका– २ बगरफाँटस्थित गन्धर्व स्थानीय बाजा सारङ्गीमा धनु रेटेर दुःख, पीडा,दृर्घटनालाई गीत बनाई घरको दैलोमा मिठो धुनमा लोकगीत गाउँदै । सारंगी एक तार बाजा हो यसलाई बजाउन धनु प्रयोग गरिन्छ। तस्बिर- रासस
संकटमा गान्धर्वको पेशा

गाउँ-गाउँ सारङ्गी रेट्दै, जीवन धान्दै

चरीले रनवन डुलेझैँ भद्र र विष्णुबहादुर गन्धर्व गाउँघर डुल्छन्। लोकलयमा जनजीवनका सुखदुःख, संवेदना सुसेल्छन्। जसरी वनतिर चरी चिरबिर गर्छन्।  यसपालि झरीले गन्धर्व जोडीको यात्रा छोटियो।

चार दिनअघि बागलुङ नगरपालिका-१२, अमलाचौरस्थित घरबाट निस्केका उनीहरु बिहीबार घर फर्के।“घम्जा गाउँ गएका थियौँ”, भद्रले भने, “झरी पर्‍यो, धेरै नघुमी फर्कियौँ।”

काठखोला गाउँपालिका–३ मा धम्जा गाउँ पर्छ। चिप्लो बाटो हुँदै झरी छलेर घरघर पुग्न गाह्रो भएको भद्रले राससलाई सुनाए। घर फर्कनुपूर्व बागलुङ बजारमा भेटिनुभएका उहाँले दिन घमाएपछि फेरी गाउँ जाने बताए।भद्र र विष्णुबहादुर छिमेकका दाजुभाइ पर्छन्।

सारङ्गी रेट्दै जुन गाउँ पुग्दा पनि उनीहरुसँगै हुन्छन्। “सात वर्षको उमेरबाट सारङ्गी बजाउन सिकेको हुँ”, ५५ वर्षीय विष्णुबहादुरले भने, “हाम्रो खेती नै यही हो।” सानैमा बुबा बितेपछि मामाघर बसेका उनले मामा मतिलालसँग सारङ्गी सिकेका थिए।

श्रीमती, एक छोरी र छोरासहितको परिवारको जीविका विष्णुबहादुरकै सारङ्गी बजाउने कलामा टिकेको छ। एक छोरीको विहेवारी भइसकेको छ।“घरखर्च, छोराछोरीको पढाइ जेनतेन धानिन्छ”, विष्णुबहादुरले भने। खेतीपाती गर्न गन्धर्व परिवारलाई जग्गा अभाव छ।

“हाम्रो पुख्यौली चलन र पेशा नै यही हो”, ६२ वर्षीय भद्रबहादुरले भने, ‘वर्षभरी गाउँघर डुल्दै, गाउँदै जीवन चलेको छ।” गाउँघर पुग्दा गन्धर्वलाई अन्नपात र नगद दिने चलन छ। अन्न बोकेर हिँड्न गाह्रो भएपछि बढीजसो नगद दिन्छन्।

“लाहुरे आएको घर र दानी व्यक्तिले राम्रै पैसा दिन्छन्”, भद्रबहादुरले भने, “हप्तादिन घुम्दा दुई, चार हजार हात पर्छ।” उनलाई पनि श्रीमती रम्बासहित एक छोरा र छोरीको जिम्मेवारी छ। दुई छोरीको विहेवारी भइसकेको छ।

अमलाचौरमा १८ गन्धर्व परिवार छन्। गन्धर्व बस्तीलाई गायकथर भनेर पनि चिनिन्छ। पुर्ख्यौली गायन पेशा अङ्गालेका चार/पाँच जना मात्र छन्। गन्धर्व परिवारका अधिकांश युवा रोजगारीमा विदेश छन्।

नयाँ पुस्तामा गायन र सारङ्गी वादनको सीप हस्तान्तरण हुन नसके गन्धर्व जातिको पेशा नै हराउने चिन्ता छ। आफ्नो १८ वर्षीय छोरा सन्दीपले सारङ्गीमा रुची नदेखाएको विष्णुबहादुरले बताए। “नयाँ युवालाई चासो नै छैन”, उनले भने।

नेपाली मौलिक बाजा सारङ्गी नै लोप भएर जाने हो कि भन्ने चिन्ता गन्धर्व समुदायमा छ। समाज र जीवनका विविधतालाई शब्दमा टिपेर सारङ्गीमा लय भर्ने गन्धर्वहरुको कलागत पेशा जोगाउनु चुनौतीपूर्ण देखिन्छ।

भद्र र विष्णुबहादुर सारङ्गी बजाउँदै बागलुङ, पर्वत र म्याग्दीको गाउँगाउँ पुग्छन्। सारङ्गी रेट्दै गाउँघर चहार्दाका तीतामिठा अनुभव उनीहरुसँग छन्। गाएरै जीविका धान्नेहरु अहिले पनि सारङ्गीलाई नै ‘खेती र जागिर’ मान्छन्।

परिवार धान्ने आधार नै सारङ्गी बनेको छ। जीवन, जगत्, ईश्वरीय महिमा, युद्ध, प्राचीन कथा, घटना, दुर्घटना आदिलाई शब्दमा टिपेर सारङ्गीमा लयबद्ध गर्दै गन्धर्वहरु गाउने गर्छन्।

घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वहरुको विशेषता हो।यथार्थपरक र मार्मिक गीतहरुलाई ‘कर्खा’को रुपमा गाउने गर्छन्।