मृत्युपछि शरीर दान गर्ने संस्कार बढ्दै

सांकेतिक तस्बिर

विर्तामोड – दमक नगरपालिका ४ की रीता बरालले चिकित्सा विज्ञान पढ्ने विद्यार्थीका लागि प्रयोगात्मक पढाईका लागि भनेर आफ्नो मृत्युपश्चात शरीर दान गरेको इच्छा पत्रमा हस्ताक्षर गरेको करिब पाँच वर्ष भयो।

उनको शरीर उनको मृत्युपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिनेछ। उनले आफ्नै इच्छाले शरीर दान गरेको सुनाइन्।

विज्ञापन

उनले भनिन्, ‘मरेपछि काम नलाग्ने शरीर चिकित्सा शास्त्र पढ्नेहरुलाई काम लाग्छ भनेर शरीर दान गर्ने इच्छा गरेकी हुँ।’

त्यस्तै दमक नगरपालिका वार्ड नम्बर ५ की लीला बन भारती र उनका पतिले पनि चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाईका लागि भनेर शरीर दानको इच्छा पत्रमा हस्ताक्षर गरेका छन्।

जसरी पनि खेर जाने शरीरलाई दान गरे विद्यार्थी पढ्नका लागि हुन्छ भनेर दम्पतीले नै शरीर दान गरेको भारतीले बताइन्।

मृत्यु पश्चात आफ्नो शरीर चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाईका लागि दान गर्ने मानिसहरुको संख्या पूर्वी नेपालमा ह्वात्तै बढेको छ।

मृत्युपछि उनीहरुको शरीर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लैजानेछ।

तर अझै पनि नेपालमा शरीर दान गर्ने परिपाटी बसिनसकेकाले चिकित्सा विज्ञान पढ्ने विद्यार्थीको प्रयोगात्मक पढाईका लागि वेवारिसे शवमा भर पर्नु परिरहेको मेडिकल कलेजका प्राध्यापकहरु बताउँछन्।

झापा दमकमा रहेको मेची सहकारी संस्थामार्फत अहिलेसम्म त्यसरी शरीर दान गर्ने मानिसहरुको संख्या केही दिन अघिसम्मको तथ्यांकमा १ सय १४ पुगेको छ।

२०६४ सालबाट शुरु भएको शरीर दान अभियानमार्फत अहिलेसम्म ३ जनाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बुझाइसकिएको छ।

सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले भने, ‘यो राम्रो कामको थालनी भएको हो। त्यसैले निरन्तरता पाइरहेको छ।’

एक नम्बर प्रदेश चिकित्सा विज्ञान पढाई हुने सबभन्दा ठूलो प्रतिष्ठान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि मात्र एक वर्षमा १० वटा मानव शव चाहिने मानव शरीर विज्ञान विभागका प्रमुख डा. सीबी झाले जानकारी दिए।

उनका अनुसार दानबाट प्राप्त शरीरले मात्र नपुगेर प्रहरीको अपराध अन्वेषण विभागबाट वेवारिसे शवहरु ल्याइने गरिएको छ।

तर कुनै वर्ष त्यस्ता शवहरु नभेटिएको अवस्थामा चिकित्सा विज्ञानको प्रयोगात्मक पढाई प्रभावित हुने मेडिकल कलेजका प्राध्यापकहरु बताउँछन्।

जेष्ठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्