कविता

उरन्ठेउला रहर जस्तो शहर !

शहरमा कहाँ भिड छ खै?
म त सब एक्लो, एकलास देख्छु।
शहरमा कहाँ चहलपहल छ खै?
म त सब उजाड, उराठ देख्छु।

प्राकृतिक द्वन्द्वहरु
बन्द रहेछ्न् आजकाल शहरमा
विचारका पनि आचारका पनि।
रहेछ्न त केवल नक्कलहरु
फोस्रा नक्कल, उदेकलाग्दा।
उरन्ठेउला रहरका नक्कलहरु,
आकारका पनि प्रकारका पनि।

घाम नि चिसो हुदोरहेछ शहरको
शहरवासीको मन जस्तो।
चर्का केबल दाम र रवाफहरु
तेर्सिएका भेटिन्छन सडक किनारमा
कसैको मधहोस जवानीका जवाफहरु।
आफ्नो अस्तित्वको प्रश्नै नबुझेका।
परदेशमा हराएका एकभाषे जस्ता।

चन्द्र पनि मधुरो हुदो रहेछ शहरको
ब्यापारीको वचन जस्तो।
गाढा त केबल दम्भ र बडप्पनहरु
चम्किला सिसा भित्र
सुकिला पोसाक भित्र
लिलामीमा लडे जस्ता स्वाभिमान र आत्मसम्मान
सडक किनारका पसले र आमजनको अनुहारमा।
सुन्दरता नि कुरुप हुने रैछ हुर्केको शहरमा।

शहरमा कहाँ मान्छे छन् खै ?
म त केबल यन्त्रहरु देख्छु।
मानवसन्तति जस्ता यन्त्रहरु
शहरमा कहाँ जिवन छ खै?
म त केबल तन्त्रहरु देख्छु।
जीवनपद्धति जस्ता तन्त्रहरु।

बिना माली जंगलिएको बाग जस्तो हुनेरहेछ शहर
बनाउदा बनाउदैँ ढंग हराएको सिकर्मीको दौरा जस्तो।
सासुबुहारिको झगडाको मारमा अनुहार बिग्रीएको पुस्तैनी कचौरा जस्तो।
थोरै रहर जस्तो थोरै कर जस्तो
थोरै पीर जस्तो थोरै व्याथा जस्तो
अस्तब्यस्त रैछ शहर, आधुनिक अन्तर वर्गीय प्रेमकथा जस्तो।

सिक्नेको भिड जस्तो देखिन्छ शहरमा
तर सिकाउने यहाँ गुरु देखिन्नन।
आफैं आफैँ सिक्न खोज्दो छ शहर
ज्ञान पनि बिज्ञान पनि
तेसैले होला
गन्हाएको छ ज्ञान शहरमा
बिग्रेको छ विज्ञान शहरमा
अनाडी तर अभिमानी
सिकारु विद्यार्थीको प्रयोगशाला जस्तो।

खै कहाँ छ शहर ?
म त मसान जस्तो बगर देख्छु।

जेठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्