बाँकेमा श्रीमानको बन्चरो प्रहारबाट एक महिला घाइते

साङ्केतिक तस्बिर

नेपालगञ्ज– भन्ने गरिन्छ, ‘श्रीमान र श्रीमतीको झगडा परालको आगो हो।’ एकैछिनमा झगडा हुन्छ अनि एकैछिनमा मिल्छन् । जस्तो, परालको आगो ह्वार्रर बल्छ र निभ्छ।

तर, पछिल्लो समयमा श्रीमान–श्रीमतीको झगडा परालको आगोमा मात्रै सीमित नरहेको बाँकेका केही घटनाले देखाएको छ। ज्यानै मार्ने, कुटपिट गर्ने र हतियार नै प्रहार हुने घटना बढेकाले श्रीमान–श्रीमतीको झगडा परालको आगो भन्ने कुरा उखानटुक्कामा मात्रै सीमित हुँदै गएको देखिन्छ।

शनिबार बाँकेको मानपुरमा ५९ वर्षका पञ्चराम हरिजनले श्रीमती कप्तारालाई बन्चरो प्रहार गरेका छन्। श्रीमती गम्भीर घाइते भएकी छन्। यी दम्पतिकाबीचमा केही दिनदेखि झगडा हुँदै आएको थियो। शनिबार विहान नौ बजे पनि त्यो क्रम चल्यो। श्रीमतीले आँखामा खुर्सानीको धुलो हालिदिएको भन्दै पञ्चरामले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरे।

पञ्चरामको बन्चरो प्रहारबाट श्रीमती कप्तारा गम्भीर घाइते भएकी छन्। उनको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

प्रहरीले पञ्चरामलाई नियन्त्रणमा लिएको छ। श्रीमतीलाई बन्चरो प्रहार गरेपछि घरबाट निस्केर खेतै–खेत प्रहरी कार्यालयतिरै जाँदै गरेका पञ्चरामलाई प्रहरीले समातेको थियो। पञ्चरामले १५/१६ दिनदेखि झगडा भइरहेकाले बन्चरोले हानेको स्वीकार गरेका छन्। छिमेकीहरुका अनुसार, पञ्चरामले श्रीमतीलाई मारेर सिधै प्रहरी कहाँ जाने धम्की दिने गरेका थिए।

बाँकेमा श्रीमान–श्रीमतीको झगडा परालको आगो होइन कि भुसको आगोजस्तै हुँदै हत्यासम्म पुगेका छन्। दिनहुँ झगडा हुने र त्यसले हत्याको रुप लिने गरेको छ। केही अगाडि कोहलपुर, हिरमिनिया र कचनापुरका घटनाले पनि त्यसको पुष्टि गरेको छ।

विदेशबाट आएका श्रीमानसँग खटपट हुँदा हिरिमनियामा केही महिनाअघि श्रीमानले श्रीमतीको हत्या गरे। त्यसअघि कोहलपुरमा श्रीमतीले दिनहुँ किचकिच गर्ने गरेको भन्दै श्रीमतीकै हत्या गरेर एकजना प्रहरी कार्यालयमा उपस्थित भए। केही वर्षअघि कचनापुरमा श्रीमानले सधैँ  मदिरा खाएर झैगडा र कुटपिट गर्ने गरेको रिसमा श्रीमतीले सुतेको बेलामा बन्चरोले हानेर हत्या गरिन्।

यी त बाँकेमा भएका घरेलु हिंसाका उग्ररुप हुन्। मदिरा सेवन, शंका, आर्थिक किचलो, विदेशबाट फर्केको केही दिनको अन्तरमा झगडाको उग्ररुपले हत्याको आकार ग्रहण गरेका छन्। जिल्लामा घरेलु हिंसाका उजुरी पनि धेरै छन्।

जेष्ठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्