कडा कारबाही गर्नुकाे सट्टा प्रहरी झारा टार्ने खेलमा लाग्यो: भुपू सैनिक

नेपालगञ्ज– नेपाल भुपू सैनिक विकास समिति, बाँकेले भारतीय आर्मी छनौटका क्रममा भएको आर्थिक चलखेलको मुद्दामा बाँके प्रहरीको अनुसन्धानप्रति शंका व्यक्त गरेको छ।

भुपू सैनिकले शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै ३८ लाख १० हजारसहित पक्राउ परेका व्यक्तिको मुद्दामा बाँके प्रहरीको कारबाहीप्रति शंका व्यक्त गरेको हो।

समितिका अध्यक्ष भीम रानाले आफूहरुले नै आर्थिक चलखेल भएको खबर प्रहरीलाई गरेर पक्राउ गराए पनि बाँके प्रहरीले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुको साटो ‘फितलो’ कारबाही प्रक्रिया अघि बढाएको बताए। ‘प्रहरीले राम्ररी अनुसन्धान गर्ने हो भने ठूला माछा पक्राउ गर्न सक्छन्’, अध्यक्ष रानाले भने, ‘बाँके प्रहरी कडा कारबाही गर्नु भन्दा पनि झारा टार्ने खेलमा लागेको छ।’

प्रहरीले त्यो घटनामा पाँच जनाविरुद्ध ठगी मुद्दा चलाएको छ। दुई जनालाई सार्वजनिक मुद्दा चलाएको छ। अध्यक्ष रानाले कुनै पनि आधारमा उनीहरुलाई छोडिएमा भुपू सैनिक सडक आन्दोलनमा उत्रिने चेतावनी दिए। उनले बाँकेको घटनाको विवरण विस्तृत रुपमा गृहमन्त्रालयमा पुगिसकेको दावी गरे।

जेठ १६ गतेदेखि बाँकेमा भारतीय आर्मीको छनौट क्याम्प लागेको थियो। २१ गते लिखित परीक्षा थियो। लिखित परीक्षाको प्रश्नपत्र ‘आउट’ गरिदिने भन्दै २० गते प्रति व्यक्ति दुई लाखका दरले पैसा उठाइएको थियो। त्यहीबेला भुपू सैनिकको सूचनामा प्रहरीले नेपालगञ्जको एक होटलमा छापा मारेर ३८ लाख १० हजार पैसासहित सात जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये पाँच जनालाई ठगी र दुई जनालाई सार्वजनिक मुद्दा लगाइएको छ।

भुपू सैनिक, बाँकेले भर्ना छनौटमा आर्थिक चलखेल हुन सक्ने भन्दै नेपालगञ्ज र कोहलपुरका होटलहरुमा ‘सर्च अभियान’ चलाएको थियो। कोहलपुरमा कतै चलखेल भएन। नेपालगञ्जको अर्को होटलको नाम आयो। त्यहाँ जादा सुनसान थियो। राती एक बजे बाटिका होटलमा पैसाको चलखेल भएको भुपू सैनिकले थाहा पाए। अध्यक्ष रानाका अनुसार, त्यसपछि प्रहरीलाई खबर गरेर भुपू सैनिकको टोली होटलमा पुग्यो। नभन्दै ३८ लाख १० हजार फेला पर्‍यो।

भुपू सैनिकले दोषीलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। आफूहरुले त्यत्रो मेहनत गरेर आर्थिक चलखेलको पर्दाफास गर्दा प्रहरीले कारबाही र अनुसन्धान राम्ररी नगरेको उनीहरुको गुनासो रहेको छ। अध्यक्ष रानाले ४ सय ५० जनासँग पैसा उठाएको आशंका गरेका छन्। आर्मी बनाउनका लागि तालिम केन्द्र सञ्चालन गर्नेहरुले पैसा उठाएर ‘पास’ गराउने अभियान थालेको भुपू सैनिकको बुझाई छ।

भारतको गोरखा रेजिमेन्टमा ४० देखि ४२ हजार नेपाली छन्। वर्षको दुई पटकसम्म नेपालगञ्ज, बुटवल, भरतपुर, पोखरा र धरानमा आर्मी छनौट क्याम्प राख्ने गरिन्छ।

जेठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्