स्थानीय सरकार र ठेकेदारको मिलेमतोमा नदी उत्खनन्

दाङ– विकास निर्माणको काम प्रभावित हुने बहानामा मध्यरातमा समेत नदीजन्य वस्तुको उत्खनन् हुने गरेको पाइएको छ।

राप्ती गाउँपालिकाले नदीजन्य वस्तुको उत्खननकाे लागी ठेक्का लगाएको स्थानबाट ठेकेदारले रातीको समयमा समेत नदीजन्य वस्तुको उत्खनन् गर्ने गरेको पाइएको हो।

‘डोजरले रातीको समयमा समेत उत्खनन् गरिरहेको छ’, एक स्थानीयले भने,‘डोजर र टिप्परले नदी ढाकिएको हुन्छ। मध्यरातीसम्म उत्खनन् चल्छ। कोही पनि नदीमा पुगेर हेर्दैनन्।’ राप्ती नदीको भालुबाङ क्षेत्रमा प्रगन्ना कुलो सिंचाई आयोजनाको मुहान नजिकै जथाभावी ढंगले नदी जन्य वस्तुको उत्खनन भैरहेको छ।

५८ सय हेक्टर जमिन सिंचाइ गर्न प्रगन्ना कुलो सिंचाई आयोजना सञ्चालनमा छ। तर, यसरी अनियन्त्रित उत्खननले नदीको सतह गहिरिएको छ। जसले गर्दा सिंचाईमा समस्या पर्ने गरेको छ।

स्थानिय सरकार र ठेकेदारको मिलमतोमा जथाभावी उत्खनन् हुँदा समेत प्रहरी प्रशासन मुकदर्शक बनेको आरोप लाग्ने गरेको छ। ‘पाँच फिट/दश फिट गहिरो खाडल खनेर उत्खनन् गरिएको छ’, स्थानिय पत्रकार महेश रिजालले भने,‘नदी क्षेत्रमा यसरी रातदिन डोजर चलाएर उत्खनन् हुँदा समेत कसैको ध्यान नजानु दुःखद कुरा हो।’

राप्ती नदी र रंगसिंग खोलाको दोभानमा नदीजन्य वस्तु उत्खनन् मनपरी ढंगले भैरहेको हो। यो दोभानमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको सिमाना समेत जोडिएको छ। दुई गाउँपालिका र एक जिल्लाको सिमा क्षेत्रमा पर्ने दोभानामा रातदिन डोजरले नदीजन्य वस्तु उत्खनन् गर्दै क्रसर उद्योगमा बिक्रि भैरहेको छ।

राप्ती नदीको पानीलाई आधार मानेर प्रगन्ना कुलो सिंचाई आयोजना सञ्चालनमा छ। वर्तमान अवस्थामा बड्कापथ कुलो सिंचाई आयोजनाको पूर्वाधारको काम चलिरहेको छ। ठूला सिंचाइको आयोजना राप्ती नदिको पानीमा आश्रित छन्।

तर, यही नदीको सतह गहिरिने गरी नदीजन्य वस्तु उत्खनन् भैरहेको समाजवादी पार्टीका संघीय परिषद सदस्य होमप्रसाद शर्माले बताए। ‘प्रगन्ना र बड्कापथ सिंचाइै आयोजना प्रभावित हुनेगरी महिना दिनअघिबाट अनधिकृत रुपमा राप्ती दोहन भैरहेको छ’, उनले भने, ‘यसरी दोहन हुँदा समेत सम्वन्धित निकाय मौन हुनु आफैमा रहस्यमय छ।’

विकास निर्माणको ठूला योजनाहरु प्रभावित हुन नदिन मेसिनरी औजार प्रयोग गर्न दिने लचकताले जथाभावी उत्खनन् मौलाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। जथाभावी उत्खनन रोक्न पालिकामा निर्देशन दिइएको जानकारी दिए।

जेठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्