मन्त्रीहरुको हातमा कुचो र डस्बिन, पुलचोकदेखि मन्त्री क्‍वाटरसम्म सफाइ

काठमाडौँ-विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ। वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाई गरिएको हो ।

पुलचोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर सकिएको थियो ।सरसफाइको नेतृत्व कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत सरसफाइमा सहभागी भएको थियो ।

विश्व वातावरण दिवसका अवसरमा २२ र २३ जेठमा नेपालगञ्जमा मूल कार्यक्रम आयोजना गरिएको थियो ।

यस क्रममा मुलुकभरका महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश–५, प्रदेश–७ र कर्णाली प्रदेशका नगर प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा सरोकारवालाहरुको सहभागितामा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ ।

 

जेठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्