शून्य समय

बाबुराम भट्टराईको नयाँ अवधारणा र टुरिष्ट ओलीको बेलायत भ्रमण

जेठ महिना नेपालमा दुर्घटना र षड्यन्त्रको सन्देश लिएर आएको महिना हो यदि एक दुइवटा दृष्टान्तका आधारमा विष्लेषण गर्ने हो भने। दरबार हत्याकाण्ड यस महिनामा घेटेको थियो १८ वर्ष पहिला। राजा वीरेन्द्रको वंश नाश, दरबारको आफ्नै परम्परा, मान्यता र परिवेशमा एउटा क्रुद्ध युवराजले कुण्ठा पोख्दा इतिहासले नयाँ मोड लिएको थियो नेपालमा। यद्यपि,ठूला राजनीतिक हत्यामा जहिले पनि षड्यन्त्रको आशंका रहने गर्छ, अमेरिकामा जोन एफ केनेडीको, भारतमा राजीव गान्धीको मृत्युमा देखिए जस्तै।

दरबार हत्या काण्डको आठ वर्षअघि अर्का एक राजनेताको मृत्यु भएको थियो सडक दुर्घटनामा, चितवनको दास ढुंगामा। नारायणी नदीमा जीप खसेपछि नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव मदन भण्डारीको शव घटनाको केही दिनपछि चितवनको गुञ्‍जनगर गाउँ विकास समिति नजिकको नारायणी नदीमा फेला परेको थियो।जबकी अर्का नेता जीवराज आश्रितको शव तत्काल घटनास्थल नजिकैबाट फेला परेको थियो।एउटा विवादित प्रश्‍न उठ्यो, जुन अस्वभाविक थिएन। गाडीका चालक अमर लामा कसरी बँचे र दुई यात्रु कसरी मृत्युको मुखमा धकेलिए।

यो घटनाले एउटा सैद्धान्तिक भन्दा पनि काल्पनिक प्रश्न पनि जम्माएको छ। राजा महेन्द्र र वीपी कोइरालाबिच सामन्जस्य समझदारी र सहकार्य हुन सकेको भए नेपालको राजनीतिले कुन ‘मोड’ लिन्थ्यो होला? त्यस्तै कम्युनिष्टहरुलाई जनताको बहुदलीय जनवादका नाममा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा डोर्‍याउन सफल मदन मण्डारी बाँचेको भए नेपालको राजनीतिले कुन बाटो समात्‍ने थियो होला? यस्ता काल्पनिक प्रश्‍नको व्यवहारिक प्रयोजन के होला र? तैपनि चेतनशील र चिन्तनशील नागरिकहरु अक्सर यस्ता प्रश्न उठाउने गर्छन सर्वत्र।

नेपालमा विद्यमान अरु राजनीतिक दलहरु जस्तै कम्युनिष्टहरुमा देखिएको ‘दलाल’ ‘दास’ र ‘भ्रष्टचारी’ प्रवृत्तिले यी प्रश्‍नहरु आगामी दिनमा झन बढी उठिरहने छन्। १० वर्षे सशस्त्र विद्रोहताका आन्दोलनका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र ‘जन सरकार’ प्रमुख बाबुराम भट्टराई यति सहजै र बाह्य संलग्नतामा प्रधानमन्त्री नबनेको भए पनि प्रश्न अर्को रुपमा आउँथ्योः नेपाललाई सिंगापुर, स्विट्जरल्याण्ड र पूर्ण विकसित बनाउन सक्ने क्षमता बोकेका यी क्रान्तिकारीद्वय वञ्चित हुँदा पूरा नेपाल नै वञ्चित हुनु पुगेको छ। तर, दुवै व्यक्ति प्रधानमन्त्री भइसकेकोले पछिल्लो प्रश्‍न या सम्भावित जन कौतुहलले विश्राम पाएको छ।

अमर लामाको हत्या भएको १६ वर्षपछि त्यो माओवादीका ‘जनसरकार प्रमुख’ भट्टराई बोलेका छन्। पत्नी राष्ट्रपति भएको बेला र एमाले नेताहरु नै सत्तामा भएको बेला नयाँ छानबिन हुनुपर्छ।जनसरकार प्रमुखका रुपमा लामाको हत्याबारे भट्टराईले कति सहयोग गर्लान त्यस्तो छानबिन भएको खण्डमा, यो पनि हालका लागि एउटा काल्पनिक चासो मात्र रहनेछ।

दरवार हत्या र मदन भण्डारी/आश्रित सम्बन्धी दुर्घटनालाई विभिन्‍न राजनीतिक समूहहरुले रहस्य, षड्यन्त्र आदि रुपमा प्रस्तुत पनि गरेका छन्।घटनामाथि राजनीति पनि खेलिएका छन्। हालै दासढुंगाको दुर्घटनाको वर्ष गाँठमा फेरि सत्ताधारी दल र कार्यकारीको उच्चतम तहबाट आभिव्यक्ति आयो,‘रेशमी पर्दा’ भित्र लुकेका भण्डारी–आश्रित हत्याराहरु बाँच्न पाउने छैनन्। अमर लामालाई माओवादीले नियन्त्रणमा लिई हत्या गर्‍यो, दासढुंगा दुर्घटनाको १० वर्ष पछि।

अक्सर अन्तर्राष्ट्रिय षड्यन्त्रसँग जोडिएको घटनामा प्रमाण लुकाउन घटनाका साक्षी तथा जानकारहरुको हत्या गरिन्छ। प्रधानमन्त्री केपी ओलीले आफ्ना धेरै ‘प्रतिज्ञा’ जस्तै दासढुंगा प्रकरणमा पनि बोल्ने र केही नगर्ने कर्मकाण्ड या परम्परा अगाडी बढाए भने आश्चर्य मान्‍नु पर्ने छैन।तर उनको मानसिक र राजनीतिक शैली बारे पछिसम्म अध्ययन भइरहनेछ, आखिर एउटा उच्च तहको नेता किन उसले पूरा गर्न नचाहने वचन र शैली पटक-पटक दोहोर्‍याइरहन्छ? परपीडामा रमाउनेलाई अंग्रजीमा ‘स्याडिस्ट’ भनिन्छ, तर सार्वजनिक रुपमा मनोरन्जनात्मक शैलीमा गम्भीर ‘प्रतिज्ञा’ गर्ने अनि त्यसलाई कार्यान्वयन नगर्ने व्यक्तिलाई के भन्‍ने?

अमर लामाको हत्या भएको १६ वर्षपछि त्यो माओवादीका ‘जनसरकार प्रमुख’ भट्टराई बोलेका छन्। पत्नी राष्ट्रपति भएको बेला र एमाले नेताहरु नै सत्तामा भएको बेला नयाँ छानबिन हुनुपर्छ।जनसरकार प्रमुखका रुपमा लामाको हत्याबारे भट्टराईले कति सहयोग गर्लान त्यस्तो छानबिन भएको खण्डमा, यो पनि हालका लागि एउटा काल्पनिक चासो मात्र रहनेछ।

दरवार हत्याकाण्डको पाँच दिनपछि भट्टराईले दरवार हत्या काण्ड अमेरिकी र भारतीय जासुसी संस्थाको संयुक्त षड्यन्त्र र नेपालमा उनीहरुका ‘मतियार’ गिरिजा प्रसाद कोइराला र ज्ञानेन्द्र शाहबाट गराइएको ठोकुवा गरेका थिए। कान्तिपुर दैनिकमा जेठ २५, २०५८ मा छापिएको ‘नयाँ कोतपर्वलाई मान्यता दिनु हुदैन’ शिर्षकको लेखमा।

दरवार छोड्दा आफ्ना ‘पूज्य दाइ र भाउजु’ को हत्यासँग आफूलाई जोडिएकोमा क्षोभ व्यक्त गरेका थिए ज्ञानेन्द्र शाहले। सम्भवत: भट्टराइले शाहको त्यो विवशतालाई आफ्नो राजनीतिक विजय माने त्यसबेला।

यो घटनाको ५ वर्षपछि गिरीजा प्रसाद कोइरालालाई ‘आफ्ना नेता’ का रुपमा स्वीकारे भट्टराईले। अमेरिका र भारतको भूमिका बारे कहिल्यै प्रश्न उठाएनन् शान्ति प्रकृयामा आएपछि। तर घटनाको १८ वर्षपछि उनले ‘ज्ञानेन्द्र शाह’ विरुद्धको उनको त्यसबेलाको आरोप ‘अवधारणा’ भएको बताएका छन्, हालै देशसञ्चार सँगको एक वार्तामा। तर ज्ञानेन्द्रले आफ्नो निर्दोषिता पुष्टि गर्नका लागि आफै प्रयत्नशील हुनुपर्ने पनि उनले बताए।अवधारणाका अनेक पक्ष वा ‘भेरिएवल’ हुने गर्छन्।

अवधारणा रणनीतिक हुन सक्छ, तर न्याय र नैतिकतालाई पन्छाएर कसैलाई दोषी ठहराउने ‘अवधारणा’ परपीडकहरुले मात्र गर्छन्। पूर्व मन्त्री तथा प्राज्ञ दीपक ज्ञवालीले भट्टराइलाई कानुनी राज्यको सिद्धान्तमा अरोपीले आरापित माथिको दोष सावित गर्नुपर्ने र अर्का एक वरिष्ठ नेपाली कांग्रेसका नेताले भट्टराईले कोइराला र शाहविरुद्धको यो आरोपका लागि नेपाली कांग्रेस, कोइराला परिवार र शाहसँग माफी माग्नु पर्ने बताएका छन्।

तर हतियार र हत्याको संस्कृतिलाई राजनीतिमा अपनाउनेहरुले ‘क्षमा याचना’को अर्थ कति बुझ्लान्? किनकी त्यसमा प्रायश्चित र नैतिकताको पाटो ठूलो हुन्छ। जे होस् भट्टराई भित्र पिल्सिएको ‘अपराधबोध’ को एउटा सानो अंशको रुपमा लिनुपर्छ उनकाे पछिल्लाे अभिव्यक्त्तिलाई। ढिलै भए पनि उनले पहिलेको आरोपलाई ‘अवधारणा’ मात्र भनेर।

भट्टराईको यो परिवर्तित अभिव्यक्ति अति बोलेर अनि बोलेको कुरामा अमल नगरेर विश्वसनीयता गुमाएका र जनमानसमा हल्का बन्न पुगेका ओलीका लागि पनि शिक्षा बन्न सक्छ। नेपालको राजनीतिलाई मात्रै, हैन कूटनीतिलाई पनि अति हल्का बनाउन सफल भएका छन् ओली।

अहिले ३१ सदस्यीय टोलीसहित जेनेभा हुँदै बेलायत प्रस्थान गरेका छन् राष्ट्रको खर्चमा ओली। बेलायतमा उनलाई आमन्त्रित गर्ने प्रधानमन्त्री थेरेसा मे ले राजीनामा गरी सकेकी छन्  पद र आफ्नाे दलबाट पनि।

आतिथ्य वा आमन्त्राणकर्ता को अनुपस्थितिमा आत्मसम्मान र कुटनीतिक परम्परा बोकेको अतिथी त्यसतर्फ जाँदैनन्। जंगबहादुरले समेत नेपालको स्वभिमान प्रदर्शन गरेको मुलुकमा ओलीको हैसियत एउटा रातो पासपोर्ट भिरेको ‘टुरिष्ट’ को हुनेछ। उनका वैदेशिक मामिला सल्लाहकार तथा परराष्ट्र मन्त्रालयले समेत उनलाई रोक्ने कोशिस नगर्नुले नेपालका नेताहरुमा समेत बेलायत भ्रमणको ‘क्रेज’ रहेको देखिन्छ।

मानवीय समवेदनाको अभाव यदि राजनीति र सार्वजनिक जीवनको पाटो भन्‍यो भने त्‍यसले सर्वनाश निम्त्याउँछ। राज्‍य सञ्‍चालन र कूटनीतिमा पारदर्शिता, जवाफदेहिताको अपरिहार्यतालाई त्‍यस्तो चरित्रले न्‍यून गराउँछ। प्रधानमन्त्रीले या अन्‍य सार्वजनिक पदाधिकारीले आफ्नो पदीय मर्यादा र दायित्व भुल्‍ने छुट पाउँछन्, स्वदेश र विदेशमा।

दरबार हत्याकाण्डमा भट्टराईका अभिव्यक्तिसँग ओलीको यो भ्रमण प्रसंगलाई जोड्नु पछाडि एउटा कारण छः सार्वजनिक जीवनमा रहेका व्यक्तिहरुको वाणी र व्यवहार उत्ताउलो हुनु हुँदैन तथा कुनै व्यक्ति र संस्था या सङ्गठनलाई क्षणिक लाभ पुर्‍याउन मुलुककाे हुर्मत लिनु हुँदैन। अन्तत: यस्ता गतिविधिहरु त्यस्ता व्यक्तिहरुका लागि कष्टकर र प्रत्युत्पादक हुनेछन् भने कहिलेकाहिँ मुलककै लागि पनि दु:खद सावित हुन सक्नेछ।

दरबार हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश र प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाटसहितको छानबिन आयोगले दिएको निष्कर्ष सरकारका लागि मान्य छैन भने उसले नयाँ आयोग बनाउन सक्छ फरक र विश्वसनीय प्रमाणका आधारमा। तर त्यो राजनीतिक प्रतिशोध, कुण्ठा र षड्यन्त्रपूर्ण नियतबाट निर्देशित भइ गरिएमा त्‍यो हरेक सरकारले अपनाउने प्रतिशोधपूर्ण संस्कृतिमा परिणत हुन सक्नेछ। सरकार केमा पनि सचेत हुनपर्छ भने अहिले सत्तामा बसेकाहरुको ‘इगो’ सन्तुष्टिका लागि नयाँ आयोग बन्ने हो भने त्यसले निरन्तरता पाउने छ। र हरेक चाेटी सत्ता बाहेकका शक्तिहरु सत्ताको प्रतिशोधको ‘मिसाईल रेञ्ज’ भित्र रहिहने छन्।

भण्डारी–आश्रित दुर्घटना लगत्तै संसद सचिवालयबाट गएको टोलीलाई विद्या भण्डारीले ‘अमर लामा’ आफ्नो परिवारको सदस्य जस्तै रहेको र शंका गर्नु पनि पाप भएको बनाएको केही दिनमै उनले बुधबार साप्ताहिकलाई दिएको अन्तर्वातामा तिनी लामा विरुद्ध शंकाको औला सोझ्याएकी थिइन्।

यी विरोधाभासपूर्ण अभिव्यक्तिलाई कसरी हेर्ने? घटना बारे न्यायाधीश त्रिलोक प्रताप राणा छानवनि आयोगले बुझाएको प्रतिवेदन कहाँ छ? प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीको के राय छ छ त्यसबारे? त्यो आयोगले ‘रेशमी पर्दा’ पछाडीका हत्यारा बारे के भन्छ? अन्‍यथा सत्तामा रहेकाहरुसँग यति गम्भिर र राष्ट्रिय चर्चाको विषयमा मनपरी बोल्ने छुट हुँदैन।

जेठको महिनामा भएका यी काण्ड र ति माथि भई रहेका राजनीतिको यो दु:खद प्रसंग हो माथिको वर्णन। मानवीय समवेदनाको अभाव यदि राजनीति र सार्वजनिक जीवनको पाटो बन्‍यो भने त्‍यसले सर्वनाश निम्त्याउँछ। राज्‍य सञ्‍चालन र कूटनीतिमा पारदर्शिता, जवाफदेहिताको अपरिहार्यतालाई त्‍यस्तो चरित्रले न्‍यून गराउँछ। प्रधानमन्त्रीले या अन्‍य सार्वजनिक पदाधिकारीले आफ्नो पदीय मर्यादा र दायित्व भुल्‍ने छुट पाउन्नन्, स्वदेश र विदेशमा।

प्रधानमन्त्रीले विदेश जाँदा दललाई हैन सिंगो मुलुकलाई प्रतिनिधित्व गरेको हुन्छ उनले मुलुकको सम्‍मान नघटाउन भन्‍ने चाहना सबैमा रहन्छ। सरस्वतीको कृपा रहेमा सम्भवतः उनले २१ औँ शताव्दीमा पनि बेलायतीहरुले ‘राजतन्त्र’लाई निरन्तरता दिएकोमा आलोचना गर्ने छैनन् अक्सफाेर्डमा नेपालीहरुसँगकाे अन्तरक्रियामा। र राजसंस्था स्वीकारे वापत बेलायतीहरुलाई निम्छरा भन्ने छैनन्।

त्यो भन्दा पनि महत्वपूर्ण कुरा हो वैधानिक या संसदबाट निर्वाचित या मान्यता प्राप्त प्रधानमन्त्री र सरकारको अनुपस्थितिमा बेलायतमा द्विपक्षिय सम्बन्धबारे को संग कुरा गर्लान उनले? यति ‘निम्छरो कूटनीति’, यति कूटनीतिक दरिद्रता ? नेपालको प्रधानमन्त्रीबारे के धारणा बन्ला बेलायत र अन्यत्र ?

प्रधानमन्त्रीले बेलायतको यो भ्रमण रोकेको भए या अलि पर सारेको भए मुलुकको इज्जत अलिकति भए पनि तल खस्ने थिएन कि? सत्ताधारी दल स्वयम् र अहिले नेपाली कांग्रेसले गठन गरेको छाँया सरकारले पनि उठाउनु पर्ने विषय हाे याे।  १८ वर्षपछि आत्मसमिक्षा गरिरहेका भट्टराईले पनि भूमिका निर्वाह गर्नु पर्ने हुन्छ  राष्ट्रिय महत्वका यस्ता संवेदनशील यात्राहरुलाई निरुत्साहित गर्न।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्