कृषि बजारका लागि साढे ९ करोडको भवन

बुटवल-रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले साढे ९ करोड लागतमा कृषि बजार सञ्चालनका लागि अत्याधुनिक बहुउद्देश्यीय सामुदायिक भवन बनाउने भएको छ।

छरिएर रहेको तरकारी बजारलाई व्यवस्थित गरी एकै ठाउँमा राख्ने र खुद्रा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि बजार भवन बनाउन लागिएको प्रमुख प्रशासकीय प्रमुख ख्यामबहादुर थापाले बताए।

विज्ञापन

९ करोड ५८ लाख ५२ हजार रुपैयाँ लागतमा २५ महिना अर्थात् ३० जुन २०२१ मा सम्पन्न गर्ने गरी काठमाडौंको स्काई÷रामसागर जेभीसँग ठेक्का सम्झौता भएको छ।

जसमा प्रदेश ५ सरकार र तराई मधेश समृद्धि कार्यक्रमको १–१ करोड सहयोग तथा बाँकी नगरपालिकाको आन्तरिक स्रोतबाट भवन बनाउन लागिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए।

७ हजार १ सय ४५ वर्गफिटमा बन्ने ४ तल्लाको भवनमा कृषिसँगै अन्य घरायसी सामान र फिल्म हल रहनेछ । पहिलो तल्लामा कृषि बजार र खाद्यान्न सामग्री, दोस्रोमा फेन्सी तथा कस्मेटिक पसल, तेस्रोमा इलेक्ट्रिकल्स सामान र चौथोमा कन्फ्रेन्स हल, फिल्म हल बन्ने भवनमा लिफ्ट समेत जडान गरिने उनले बताए।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्