प्रदेशसभा सांसदको माग : निर्वाचन क्षेत्रको रकम ५ करोड पुर्‍याऊ

धनगढी– प्रत्येक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुको नेतृत्वमा खर्च हुने निर्वाचन क्षेत्र केन्द्रीत स्थानीय पूर्वाधार विकास कार्यक्रमको रकम बढाउन सत्तारुढ दलका प्रदेश सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई दबाब दिन अभियान सुरु गरेका छन्।

मनलाग्दो तरिकाले खर्च हुन थालेकोले त्यस्तो रकम विनियोजन नै गर्न नहुने भन्दै नागरिकस्तरबाट कुरा उठिरहेका बेला सत्तापक्षका प्रदेश सदस्यहरुले भने त्यस्तो रकम बढाउनुपर्ने भन्दै दबाब अभियान शुरु गरेका हुन्।

विज्ञापन

चालू आर्थिक बर्षमा प्रत्येक निर्वाचन क्षेत्रका लागि २ करोड छुट्याइएकोमा आगामी बर्षको बजेटमा बढाएर ५ करोड पुर्‍याउन माग गर्दै उनीहरुले दबाब अभियान सुरु गरेका हुन्।

यसका लागि प्रदेश सदस्यहरुले अनौपचारिक रुपमा थुप्रै पटक छलफल गरिसकेका छन्। आइतबार प्रदेश सभाको बैठक सुरु हुनुपूर्व सभा परिसरमा केही प्रदेश सदस्यहरुले नेकपाका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ समक्ष आफूहरुले सासंदलाई दिइने पूर्वाधार विकास कार्यक्रमको रकम बढाउन अभियान थालेको र त्यसमा सहयोग गर्न प्रस्ताव राखेका थिए।

अनौपचारिक रुपमा कुरा उठेपनि अभियान थालिएको बारे आफूलाई जानकारी नभएको बताउँदै बैतडीबाट निर्वाचित नेकपाका प्रदेश सभा सदस्य लिलाधर भट्टले प्रदेश सभा सदस्यले उपयुक्त देखेका विकास आयोजनामा बजेट विनियोजन गरी त्यसलाई रातो किताबमै राखेर सरकारले नै कार्यान्वयन गर्नुपर्ने पक्षमा आफू रहेको बताए।

अछामबाट निर्वाचित नेकपाका प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले स्थानीय पूर्वाधार विकास कार्यक्रमको रकम बढ्नु पर्ने भनि आफूहरुले पार्टीको संसदीय दलमा छलफल गरेको बताए। दबाबमूलक अभियान चलाएको नभई सांसदले आफ्नो निर्वाचन क्षेत्रका अलि बढी आयोजनामा सहभागिता जनाउन पाओस् भनेर रकम बढाउने विषयमा छलफल गरिएको उनले बताए।

‘यो सांसद विकास कोष होइन’, उनले भने, ‘पूर्वाधार विकास कार्यक्रम भएकोले चालू आर्थिक बर्षको रकम थोरै स्थानमा मात्र कार्यान्वयन गर्न पाइयो, अझ धेरै योजनामा सहभागिता जनाउन पाइयोस् भनेर हामीले संसदीय दलमा बजेट बढाउने बिषयमा छलफल गरेका हौँ।’

प्रदेश सभा सदस्यहरुले यस्तो कार्यक्रमको रकम बढाउने विषयमा पार्टीका स्थायी समिति सदस्यद्वय भीम रावल र लेखराज भट्टसँग समेत छलफल गरेका छन्। नेकपाका एक प्रदेश सभा सदस्यका अनुसार स्थायी समिति सदस्य भीम रावलले रकम बढाउने र नबढाउने बिषय चालू आर्थिक बर्षको रकमको खर्च र त्यसबाट भएका कामहरु हेरेर समिक्षा गर्न सुझाव दिएका छन्।

अर्का स्थायी समिति सदस्य भट्टले पनि रकम बढाउने भन्दा पनि बजेटको कार्यान्वयन गर्ने तर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएको ती प्रदेश सभा सदस्यले बताए।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्