नेपाली युवाको कारुणिक अमेरिका यात्रा

९ महिनाको संघर्षपछि अमेरिका छिरे तर १७ महिना जेल जाकिए

दाङको तुल्सीपुरस्थित रजौरका एक युवालाई करिब तीन वर्षअघि कसैले सपना बाँड्यो – ३० लाख रुपैयाँ खर्च गरे अमेरिका पुगिन्छ। विज्ञान संकायमा प्लस टु उत्तिर्ण ती युवा रमन अधिकारी (नाम परिवर्तन) सपना देख्‍न थाले- अमेरिका पुगेर सम्पन्न जिवन बाँचिरहेको, प्रशस्त पैसा कमाएर चाहेको इच्छा पूरा गरिरहेको।

अनि कुरा गरे परिवारसँग अमेरिका उड्नेबारे। परिवारका एकमात्र छोराको जिद्धिलाई जित्न सकेनन् अभिभावकले। त्यसरी सपना बाँड्ने गाउँकै चिनेजानेको भएकाले छोराको ‘अमेरिका सपना’लाई पूरा गर्न लागिपरे अभिभावक। दाङकै एक चर्चित राजनीतिकर्मी पनि यसरी अमेरिका पुर्‍याउने समूहको सदस्य रहेको र यसअघि धेरै जना अमेरिका पुर्‍याएको तथ्य थाहा पाए।

अनि गिरोहलाई विश्वास गर्दै जिम्मा लगाए रमनलाई। भारतको बाटो हुँदै जानुपर्ने बताईएको थियो। भारतबाट रमनले जमिन छाड्नुअघि गिरोहले २० लाख रुपैयाँ हात पारिसकेको थियो । भारतको नयाँ दिल्लीबाट हवाई मार्ग हुँदै यूएइको आबुधावी पुगे। आबुधावीको केही दिनको बसाइपछि रमनलाई भनियो- तिम्रो ब्राजिलको टिकट छ। अब ब्राजिल उड्नुपर्छ।

हवाई मार्ग हुँदै रमन ब्राजिल पुगे। त्यतिबेलासम्म रमनको समूहमा नेपाली उनिमात्र थिए। अन्य बंगलादेश, फिलिपिन्सलगायत देशका ८/१० जना युवा थिए। ब्राजिल पुगेपछि अब उनिहरुले प्लेन चढ्नुपर्ने थिएन। अमेरिका नपुगुन्जेल बस/ट्याक्सी चढ्नु र पैदल गर्नुको विकल्प थिएन। ब्राजिलमा स्थानीय एजेन्टले उनिहरुलाई ‘रिसिभ’ गरे। उनीहरुले ब्राजिल पार गराए अनि पुर्‍याए पेरु।

पेरुमा उनीहरुलाई रिसिभ गर्न स्थानीय एजेन्ट आए। यसरी हप्तौँ लगाएर एक देश पार गरेर अर्को देश प्रवेश गर्ने क्रम निरन्तर चलिरह्यो। प्रहरीले पक्राउ गर्न सक्ने डर छँदै नै थियो। यसरी प्रहरीलाई तर्काउन जंगलको बाटो हिँडाइन्थ्यो। पेरुबाट इक्वेडर  पुगे। अनि इक्वेडरबाट कोलम्बिया। हरेक देशमा स्थानीय एजेन्टको सहयोग।

कोलम्बियाबाट छिर्नुपर्थ्यो उत्तर अमेरिका अर्थात संयुक्त राज्य अमेरिका रहेको महादेश। कोलम्बिया पुगेपछि रमनको साथमा रहेको राहदानी च्यातियो, स्थानीय एजेन्टले मोबाइल पनि खोसे। अपर्झटका लागि बाहेक सबै व्यवस्थापन स्थानीय एजेन्टले गर्ने भएकाले रमनले करिब एक हजार डलर मात्र साथमा लिएर गएका थिए। त्यतिबेलासम्म रमनले आफूले खर्च गर्नुपरेको थिएन। तर कोलम्बियाबाट  पनामा छिरेसँगै लोकल एजेन्टको बार्गेनिङ सुरु भयो। उनीहरुले आफ्नो मोबाइल दिएर रमनलाई फोन गर्न लगाउँथे नेपालमा परिवारसँग।

जब  रमनले पैसा नभएपछि  अगाडि जान नसक्ने बताउँथे। यता परिवारले नेपालका एजेन्टलाई पैसा बुझाइ हाल्नुपर्थ्यो। पैसा नबुझाएमा यात्रा अगाडि बढ्न सक्दैन थियो। यही कारण रमनको समूहमा सदस्यहरु थपघट भइरहन्थे। भनेजति पैसा दिने अगाडि जान्थे, नबुझाउने रोकिन्थे। बस र पैदल मार्ग हुँदै, प्रहरीलाई छल्दै उनिहरु पनामाबाट कोस्टारिका अनि कोस्टारिकाबाट निकारागुवा पुगे।

जंगलको बाटो हिँड्दा कैयौँपटक लुटिए। यसरी लुटिएपछि नेपालमा फोन गरेर पैसा मगाउने स्थानीय एजेन्ट हुन्थे। धेरै दिन भोकै पनि हिँडे।  निकारागुवाबाट होन्डुरस हुँदै ग्वाटेमाला पुगे। अमेरिकाको छिमेकी राष्ट्र नजिकि रहँदा नेपालका एजेन्ट र स्थानीय एजेन्ट दुवैको बार्गेनिङ बढ्दै जान्थ्यो नेपालमा रहेका आफन्तसँग ।  ग्वाटेमालाबाट अमेरिका छिर्न केवल एउटा देशमात्र पार गर्नुपर्थ्यो, मेक्सिको।

मेक्सिको प्रवेश गर्दासम्म रमनको परिवारले नेपाली एजेन्टलाई ५५ लाख नेपाली रुपैयाँ बुझाई सकेका थिए। जति पैसा बुझाए पनि अनि जति दु:ख पाए पनि रमन एउटा कुरामा खुसी थिए- अमेरिका पुग्न लागेकामा। तर यो अन्तिम खुड्किलो निकै गाह्रो थियो पार गर्न। स्थानीय एजेन्टले पनि उनलाई भनेका थिए – यो अन्तिम लडाइँ हो तर यो जित्न यसअघिको जस्तो सजिलो छैन। मेक्सिका-अमेरिका सीमा क्षेत्रमा २४ घन्टा नै सुरक्षाकर्मी तैनाथ हुने भएकाले उनीहरुलाई सजिलो थिएन अन्तिम खुड्किलो पार गर्न।

नेपाल छाडेको ९ महिनापछि, करिब दुई वर्षअघिको एक दिन रमन मेक्सिकोबाट अमेरिका छिर्छन्। तर अमेरिकाको जमिन टेके लगत्तै उनीहरु पक्राउ पर्छन्। साथमा राहदानीसमेत नभएकाले रमनविरुद्ध मुद्दा चल्छ। उनि जेल चलान हुन्छन्। मुद्दा लड्दा अमेरिकामै उनको करिब २० लाख नेपाली रुपैयाँ सकिन्छ। १७ महिना अमेरिकाको जेल बसेर ६ महिना अघि नेपाल ‘डिपोर्ट’ भएका उनै रमन अहिले न्याय खोजिरहेका छन्।

रमनको उजुरीका आधारमा मानव बेचबिखन अपराध ब्युरोले दाङका टोबहादुर जिसीलाई पक्राउ गरिसकेको छ। गिरोहसँग जोडिएको भनिएका दाङका ती चर्चित राजनीतिकर्मीले दुर्घटनामा ज्यान गुमाईसकेका छन्। ब्युरोका प्रवक्ता गोविन्द थपलिया यो गिरोहका अन्य सदस्यको पनि खोजी भइरहेको बताउँछन्।

‘ अमेरिकाको सपना देखाएर विभिन्न देशका स्थानीय एजेन्टसँग मिलेर मानव ओसारप्रसार गरेको देखिन्छ। अप्ठेरो परिस्थितिमा पुर्‍याएर पैसाको बार्गेनिङ गर्ने र लाखौँ रुपैयाँ असुली गर्ने गरेको अनुसन्धानबाट फेला परेको छ’, प्रहरी उपरिक्षक-एसपी थपलिया भन्छन्।

अमेरिका पुग्ने आशामा गिरोहको विश्वास गरेर महिँनौको संघर्ष र लाखौँ रुपैयाँ खर्च गरेर बाटो तताकाहरु मध्ये केहीमात्र अमेरिका छिर्न सफल हुने र बाँकी बाटोमै अलपत्र र पक्राउ पर्ने गरेको प्रहरीका अघिल्ला अनुसन्धानहरुबाट पनि देखिएका छन्।

केही वर्षअघिसम्म मेक्सिकोसम्म नै हवाई मार्गबाट पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने ‘ट्रेन्ड’ रहेकोमा  हवाई मार्गमा मेक्सिकोलाई  ‘ट्रान्जिट’ बनाउनेमा कडाइ गर्न थालिएपछि गिरोहले अमेरिका छिर्ने अन्य विभिन्न ‘रुट’ अवलम्बन गर्न थालेको अनुसन्धान अधिकारीहरु बताउँछन्।

‘ केही घटनामा एक देशबाट अर्को देशमा छिर्दा पक्राउ परे जुन देशबाट छिरेको त्यही देशमा फर्काइ दिएको पनि सुन्‍ने गरिएको छ। तर बारम्बारको प्रयासपछि उनीहरु ती देशमा छिर्न सफल भएको सुनाउँछन्’, मानव बेचबिखन अपराधसम्बन्धमा अनुसन्धान गरिरहेका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवाल भन्छन्। केही वर्षअघि मेक्सिको भएर अमेरिका छिरेका चार नेपालीलाई अमेरिकाले विशेष विमान चार्टर गरेर नेपाल डिपोर्ट गरेको थियो।