बम विस्फोटका घाइते छोटू ठाकुरको बयान

‘केवल पशुपतिनाथसँग प्रार्थना छ, म निर्दोष छु, निको भए चाँडै दर्शन गर्न आउँछु’

सधैंका दिनहरु जस्तै जेठ १२ गते पनि उनले आफ्ना दैनिक कार्य सके। कपनमा रहेको कोठाबाट उनी सुकेधारास्थित ढलाने पुल नजिकै रहेको पसलमा पुगे। पसलमा धेरै थोरै जे जति भए नि कपाल काट्न ग्राहकहरु आउने जाने गरिरहेका थिए।

ग्राहक आउन थालेपछि उनी काममा व्यस्त हुने नै भए। तर त्यो दिनपछि उनको दैनिकी परिर्वतन भयो। न उनी कपाल काट्न आउने ग्राहक कुरेर बस्नु परेको छ, न त आएका ग्राहकको कपाल काट्नु परेको छ। छ त केवल अस्पतालको एउटा कुनाको सानो बेडमा सुत्नु, अनि पीडाबाट छट्पटिनु। अनि बारबार भागवानसँग चाँडै निको हुने प्रार्थना गर्नु शिवाय केही गर्न नसक्ने भएका छन् उनी।

जेठ १२ गते साँझ राजधानीको घट्टेकुलो, सुकेधारा र थानकोटमा बम विस्फोट भयो। विस्फोटमा परी तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो। विस्फोटमा परी नौं जना घाइते भएका थिए। तीन ठाउँकै बम विस्फोटका घाइतेहरु मध्ये आठ जना सामान्य घाइते भए। उनीहरुको उपचार भयो।

उपचार पश्चात सबै निको भएर डिस्चार्ज पनि भए। तर नौं जना घाइते मध्यका गम्भिर घाइते भएका महोत्तरीका ६५ वर्षका जीवकुमार ठाकुर ‘छोटू’ भने अझैसम्म पनि निको हुन सकेका छैनन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनलाई आकस्मिक कक्ष, आइसियू हुँदै अहिले जनरल कक्षमा सारिएको छ। कक्षको बेड नम्बर ४३६ मा उनी आधा बेड उठाएर सुतिरहेका थिए।

पीडामा छट्पट्टि रहेका छोटू


बेडमा सुतिरहेका उनका आँखाका कुनाबाट तरर्र आँसु बगिरहेका थिए। अस्पतालका प्रमुख प्रमोद यादवका अनुसार उनी बिस्तारै ठिक हुने क्रममै छन्। उनले ठीक हुँदैछन् भने पनि छोटू पीडाले छट्पट्टिरहेका छन्। उनी सुकेधारमा भएको विस्फोटमा घाइते भएका हुन्।

विस्फोटमा परी उनको छाती, कोखा, खुट्टा र हातमा चोट लागेको थियो। चोटका कारण अहिलेसम्म उनको दाँया हात र दुवै खुट्टाले काम गरेका छैनन्। आँखाका कुनाबाट आँसु बगाइरहेका उनले भने,‘दुखिराखेको छ, एउटा हात पनि चल्दैन, खुट्टा त झन् दुवै चल्दैनन्, मन लागेका बेला ट्वाइलेटसम्म पनि जान सक्दिन।’

उनी शौचालय जान नसक्ने भएकाले उनका छोरा र छोरीले उनलाई बेडमै शौच गराउने गर्छन्। डाक्टरले उनलाई पहिलेको भन्दा धेरै सुधार भइरहेको र चाँडै निको हुने बताउँदै आइरहेका छन्। छोटूसँगै कपनमा बस्दै आएकी छोरी रञ्जिता ठाकुर र महोत्तरीबाट आएर छोरा वीरेन्द्र ठाकुर छोटूको स्याहार–सुसारमा अस्पतालमा तल्लिन छन्।

दाजुबहिनीले पालो–पालो गरेर बुवाको हेरविचार गरिरहेका छन्। छोरी १२ कक्षा पढ्दै छिन् भने छोरा वीरेन्द्रले पनि बाबुले अँगालेको पेशालाई नै अँगालेका छन्। उनी महोत्तरीमै कपाल काट्ने काम गर्छन्। वीरेन्द्र घरी बुवाको छेउमा बस्छन् त घरी डाक्टरले दिएको पर्चा समातेर चार तला तल औषधि किन्न कुद्छन्, औषधि किन्छन्, फेरि चार तला माथि पुग्छन्। उनको दैनिकी यसैगरी बुवाको स्याहार–सुसार गर्दैमा कटेको छ।

विस्फोटको त्यो दिन


छोटूले १३ दिन अगाडिको त्यो घटनालाई स्मरण गर्ने कोशिस गरे। साँझ हुँदै थियो। उनी ग्राहकलाई कुरेर पसलमा बसिरहेको थिए। त्यही समयमा उनलाई पिसाब लाग्यो। पसलको ढोका खुल्लै छोडेर उनी शौचालय तर्फ लागे। छोटे शौचालयबाट फर्किदै थिए। पानी पर्न थाल्यो। उनी पसल भित्र पसे। उनीसँग सँगै झोला बोकेका ४/५ जना युवकहरु उनको पसलमा पसे। ती युवाहरु पसलमा पुग्ने बित्तिकै कोही कपाल कोर्न थाले। कोही ऐना हेर्न थाले।

बाहिर पानी परिरहेको थियो। छोटूले सोचे शायद पानी परेका कारण ओत लाग्नका लागि उनीहरु पसल भित्र पसेका हुन्। शौचालयबाट फर्केका उनी कुर्सीमा बस्न थाले। उनी राम्रोसँग कुर्सीमा बसिसकेका थिएनन्। एक्कासी ठूलो आवाज आयो। जुन आवाज बम विस्फोटको थियो। उनी त्यही विस्फोटमा परे। विस्फोटमा घाइते भएका उनी बेहोस भए। छोटूले भने,‘त्यो आवाजपछि के भयो मलाई केही थाहा छैन, मैले आँखा खोल्दा अस्पतालमा थिएँ।’

उनलाई आफू छिटो भन्दा छिटो निको हुन मन छ। घाउहरु निको हुँदै गएता पनि असाध्यै दुख्ने उनले बताए। उनले कोखा र बाँया खुट्टामा लागेको चोट देखाउँदै भने,‘कोखामा तीन वटा हड्डी भाँचिएको छ, यो खुट्टाको त झन पीडौलादेखि पैतलासम्म मासु फर्लक्कै फर्केको छ।’ उनले दिशा पिसाब गर्न मन लागेका बेला छोरा–छोरीलाई गुहार्नु पर्ने बताए। रञ्जना र वीरेन्द्र उनको औषधि लिनका लागि छोटूलाई छोडेर बाहिर कुदिरहेका हुन्छन्।

उनले भने,‘यिनीहरु कता–कता जान्छन्, यहाँ आफूलाई पिसाब लागेर गाह्रो भइसक्यो।’ साँझ बिहानको खाना भने अस्पतालले दिने गरेको उनले बताए। चाडै निको हुने अभिलाषा बोकेका छोटूले भने, ‘छिटो निको हुँ भन्ने कामना गरेको छु, मैले पशुपतिलाई भनेको छु मलाई चाँडै निको परिदिनुहोस्, निको भएर म तपाईको दर्शन गर्न आउने छु।’

काठमाडौँको यात्रा


महोत्तरीबाट उनले २०४५/५० सालतिरैै काठमाडौंको यात्रा सुरु गरेका थिए। जतिबेला उनी ज्याला मजदुरी गर्थे। मजदुरी गरेर कमाई गर्न थाले। त्यो बेला पनि उनी कहिले कसो घर जाने गर्थे। उसो त उनी अहिले पनि कहिलेकाहीँ मात्रै घर जाने गर्छन्। छोटू घर जान्थे फेरी काठमाडौं फर्कन्थे। यसरी नै उनले परिवारको लालनपालन गरिरहेका थिए।

उनले सधैँ अरुको काम गरेर जीवन धान्न गाह्रो भएको महशुस गरे। दुई वर्ष अगाडि सुकेधारास्थित ढलाने पुलदेखि केही दुरीमा एउटा सटर भाडामा लिए। अनि कपाल काट्ने काम सुरु गरे।

ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गराइरहेका मोहत्तरीका ५६ वर्षीय छोटे ठाकुर।सुकेधारामा आइतबार बम विस्फोट हुँदा उनी घाइते भएका थिए। उनको हात-खुट्टामा सामान्य चोट भए पनि छातिको चोट भने गहिरो रहेको चिकित्सकले बताएका छन्। तस्बिर-देश सञ्‍चार

हुन त उनले यो भन्दा अगाडि पनि कपाल काट्ने काम गर्दै आएका थिए। डिल्ली बजार, चावहिल चोक, ओम अस्पताल नजिक हुँदै उनी सुकेघाराको ढलाने पुल नजिकै पुगेका थिए। छोटूको पसलबाट राम्रै चलिरहेको थियो। उनले सपनाहरु बुन्न थालेका थिए। तर उनका सपना विस्फोटनले चक्नाचुर परिदिएको उनले बताए। उनले भने,‘अब के नै छ र? मेरो दिमागले राम्रो सँग काम गरेको छैन, अहिले भनेको कुरा एकछिनमै बिर्सिन्छु।’

आफूले कमाएको पैसाले घर परिवारलाई हातमुख जोड्न पुगेको छोटूले बताए। उनको घरमा उनकी श्रीमती, दुई छोरी, बुहारी, तीन नातिनी र नाति छन्। ‘निको भएपछि घर परिवारले जे भन्छ त्यही गर्छु। उनीहरुले काठमाडौं बस् भन्यो भने यहीँ बस्छु। घर जाम भन्यो भने घर जान्छु।’– उनले भने।

विस्फोटमा उनको संलग्नता !


आफू एक सामान्य कपाल काट्ने व्यक्ति रहेको उनले बताए। उनलाई आफ्नो काम बाहेक अन्य कुनै पनि कुरामा मतलब हुँदैन। उनले भने,‘म सधैं कपाल काटेर बस्ने मान्छे बम बनाएर कसरी बस्छु होला र?’ उनका अनुसार उनको पसलमा विस्फोट कसरी भयो, के कारणले भयो उनले कुनै अनुमान लगाउन सकेका छैनन्।

झोला बोकेर ओत लाग्न पसलमा आएका ती युवकहरुसँग पो केही विस्फोट हुने कुरा थियो की? उनले अड्कल गर्न खोज्छन्। तर अनुसन्धान नभएर यकिनका कुनै पनि कुरा भन्न नहुने छोटूका छोराले बताए। ‘मलाई लाग्दैन कि मेरो बाबा कुनै पार्टीमा संलग्न हुनुहुन्छ, प्रहरीले अनुसन्धान गरेर दोषीलाई कारबाही गरोस्, चाहे त्यो दोषी मेरो बाबा नै किन नहोस्’, वीरेन्द्रले भने, ‘तर मेरे मनले भन्छ मेरो बाबा निर्दोष हुनुहुन्छ।’

बुवालाई कुर्न बसेका छोरा


‘वर्षौदेखि कपाल, दाह्री काटेर पेट पालिरहेका छौँ। हामी कुनै पनि पार्टी वा राजनीतिक दलसँग जोडिएका छैनौँ’, छोटूका छोरा वीरेन्द्रले भने,‘हामी गरिब मान्छे हामीलाई साँझ बिहानको खाना के खाने भन्ने पिरलो हुन्छ, दाँया बाँया सोच्ने फुर्सद हुँदैन।’

वीरेन्द्र बुवा घाईते भएको खबर पाउने बित्तिकै महोत्तरीबाट काठमाडौं आएका हुन्। उनले जसोतसो बुवाको उपचारका लागि भनेर ऋण सापट गरेर अढाई लाख ल्याएको बताए। सरकारले उपचार गरिरहेको भनेता पनि छोटूको उपचारमा कुनैपनि चासो नदेखाएको उनले गुनासो गरे। ‘बुवाको उपचार सरकारले गरिरहेको भन्ने हल्ला छ तर हामीलाई केही पनि सहयोग गरेको छैन।

अस्पतालले ब्यान्डेज, अनि अलि सस्तोमा औषधि मात्र दिँदै आइरहेको छ’, उनले भने, ‘ऋण सापट गरेर ल्याएको पैसा सकियो, अब बाबालाई कसरी निको बनाउने हो पत्तो छैन।’, उनले फेरि थपे,‘डाक्टरले पुर्जा काटेर दिनुहुन्छ, औषधि ल्याऊ नत्र बिरामी निको हुँदैन, ड्रेसिङ गर्न मिल्दैन भन्नुहुन्छ।’

छोटूको सामान्य उपचार भइरहे पनि उनको खुट्टाको अप्रेशन अहिलेसम्म पनि हुन सकेको छैन। आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण आफ्ना बुवाको खुट्टाको अप्रेशन गर्न नसकेको वीरेन्द्रले बताए।

उनले भने,‘खुट्टाको अप्रेसन गर्नु छ, हातको अवस्था पनि उस्तै छ, हामी गरिब कपाल दाह्री काटेर, खुर्केर खाने मानिस पैसाको जोहो कसरी गर्नु कसले पत्याउँछ र फेरी हामीलाई।’

शिक्षा मन्त्रीले आश्‍वासन दिए तर फर्केर आएनन्


केही दिन अगाडि सरकारी निकायबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल छोटूलाई भेट्न अस्पताल पुगेका थिए। उनले अस्पताल पुगेर छोटूलाई ‘चिन्ता नलिनुहोस्, हामी छौँ, तपाई चाँडै निको हुनुहुन्छ’ भनेका थिए। उनले छोटूलाई कुनैपनि कुराको चिन्ता नलिन र उनलाई हर प्रकारले सहयोग गर्न तयार रहेको आश्वासन दिए।

मन्त्री पोखरेल अस्पताल पुगेर छोटूलाई भेटे। उनलाई आशा देखाएर उनी फर्किए। अस्पतालबाट फर्केदेखि न त उनी फेरी छोटूलाई भेट्न पुगे। न त कुनै सहयोग नै गरे। वीरेन्द्रले भने,‘सबै जना आउँछन्, हाम्रो अवस्था कस्तो छ भनेर सोध्छन्, दुःख सुनायो फेरी फर्केरै आउँदैनन्।’

तर नेपाल नाई ट्रेड यूनियनले छोटूको परिवारको आर्थिक अवस्था कमजोर भएकाले स्वास्थ्य उपचारमा सहयोग गर्नका लागि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई निवेदन दिएका थिए। मन्त्रालयले छोटूको उपचारका विपन्न नागरिक सहुलियत कोषबाट गरिदिन ट्रमा सेन्टरलाई जेठ २४ गते पत्र लेखेको छ।

अस्पताल प्रशासन


छोटू पूर्णरुपमा निको भएको अस्पतालका प्रमुख प्रमोद यादवले बताए। ‘छोटू अहिले निको भइसकेका छन्, तर उनलाई अब फेरी पहिलाको जस्तो काम गर्न सक्दिन कि भन्ने मनोबलले कमजोर बनाएको छ।

अरु सबै सामान्य छ’, अस्पतालका प्रमुख यादवले भने,‘खट्टाको पनि अप्रेसन भएको छ, छाती पनि ठीक हुँदैछ, उनी अब छिटै ठीक हुन्छन्।’ छोटूका आफन्तले राम्रोसँग उपचार नभएको बताएता पनि उनको उपचार सहि रुपमा भइरहेको अस्पतालको दावी छ।

छोटू प्रहरी शंकाको घेरामा


छोटू विस्फोटमा संलग्न हुन सक्ने आशंका रहेको काठमाडौं प्रहरी परिषद् प्रमुख उत्तम सुवेदीले बताए। सुवेदीले भने,‘उनी हाम्रो शंकाको घेरामा छन्, अहिले उनको उपचार भइरहेको छ। ठाकुरको उपचार सकिन बित्तिकै हामी अनुसन्धान सुरु गर्नेछौँ।’ प्रहरीले अहिले अनुसन्धान भन्दा पनि छोटूको उपचार महत्वपूर्ण भएको बताएको छ।

जेष्ठ २७, २०७६ मा प्रकाशित