मेयरलाई वडाध्यक्षहरुबाटै असहयोग !

टुक्रे योजना घुसाउन नपाउने भएपछि योजना बैंकको योजनै बिफल हुँदै

sdr

पोखरा– आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट अनुसारको योजना नभई योजना अनुसारको बजेट बनाउने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको प्रयास असफल हुने देखिएको छ ।

महानगरका सबै वडाबाट योजना छनोट गरी ल्याउन निर्देशन दिए पनि वडाध्यक्षहरुले मेयरकै निर्देशन पालना नगर्दा अन्ततः योजना बैंक बनाउने मेयरको चाहनाले साथ नपाउने भएको हो ।

वर्षभरिका योजना लिस्टिङ गर्ने र योजना मुताविकमात्रै बजेट खर्चिने मेयर जिसीले बताएका थिए । वडाध्यक्षहरुले टुक्रेटाक्रे योजना बीचबीचमा घुसाउन नपाइने भएपछि योजना बैंक बनाउन असहयोग गरेको महानगरका एक कर्मचारीले नाम बताउने सर्तमा बताए।

बजेट तयारीको पूर्वसन्ध्यामा जेठ १० गतेभित्रमा महानगरले सबै वडाबाट योजना ल्याउन पत्राचार गरेको थियो । ढिलो गरीमात्र वडा १, १२, २१, २५, २८, ३० र ३२ ले योजना छनोट गरी महानगरमा पठाएका छन् ।

पटकपटक मौखिक ताकेता गर्दासमेत अन्य वडाध्यक्षले चासो नदिएकै कारण आगामी आवका लागि बनाउने भनिएको योजना बैंक नबन्ने शंका बढेको ती कर्मचारीले बताए ।

महानगरले अहिलेसम्मको परिपाटीमा वडालाई सिलिङ तोकेर बजेट निर्धारण गर्ने गरेको थियो । चालु आवका लागि न्यूनतम १ करोडदेखि डेढ करोडसम्मका योजना मात्रै वडामार्फत खर्चिन पाउने बजेट दिइएको थियो ।

सिलिङ अनुसारको बजेटले वडामा भौतिक पूर्वाधारका अत्यधिक मागलाई सम्बोधन गर्न नसकेको वडाबाट जनप्रतिनिधिकै गुनासो थियो ।
वडाध्यक्षहरु टुक्रे योजनाका फाइल बोकेर महानगर धाइरहनुपर्ने बाध्यता अन्त्य गर्ने मनसाय योजना बैंकमार्फत बनाइएको मेयर जिसीले बताएका थिए ।

त्यहीँ किसिमको थिति वडाध्यक्षलाई उपयुक्त महसुुस भएका कारण योजना बैंकमा चासो नराखेको पाइएको छ ।
‘हाम्रा वडाध्यक्षहरुलाई बुझाउन सकिएन,’ मेयर जिसीले भने, ‘मेयर र उपमेयरले योजना केन्द्रीकृत गर्न लागे भन्ने बुझ्नुभयो । त्यस कारण समयमै योजना आउन ढिला भयोे ।’

आएका योजना छनोट गरेर वडामा जाने बजेटको आकार निर्धारण गरौंला भन्ने सोच बनाइएको भए पनि वडाबाट योजना नआउँदा विलम्ब भएको मेयर जिसीले बताए ।

पूर्वाधार, कार्यालय सञ्चालन, भवन निर्माण, सामाजिक विकास लगायतका कार्यक्रमलाई वडामा जाने बजेटको सीमा निर्धारण गर्ने तयारीमा महानगर जुटेको छ ।

योजना बैंकका लागि महानगरले विभिन्न विकास तथा सेवासम्बन्धी योजना छनोटको तयारी गरेको थियो ।

त्यस्ता योजनालाई एकल वा बहुवर्षीय अन्तर्गत राखेर स्थानीय जनप्रतिनिधिको कार्यकाल छँदै सम्पन्न गर्ने कसरत मेयरले थालेका थिए ।

कम्तीमा पनि देखिने योजना प्राथमिकतामा परुन् र प्रभावकारी रुपमा सम्पन्न होस् भन्ने चाहना राखेको मेयर जिसी बताउँछन् ।

उनी भन्छन्, ‘योजना सिफारिस गरेका कतिपय वडाले निकै मेहनत गरेर ल्याएका छन् । एउटै वडाबाट ४० करोडमाथिका योजना पनि छन् । त्यस्ता योजना महानगरले प्राथमिकतामा राखेर नीतिगत रुपमै अघि बढाउँछ ।’

योजना नदिने वडाको हकमा भने महानगरबाट अध्ययन गरी आवश्यकता मूल्यांकनको आधारमा बजेट दिने उनले बताए ।

असारमा बस्ने कार्यपालिका बैठक बस्ने समयसम्ममा आएका योजना समेटेर भए पनि योजना बैंक बनाई छाड्ने मेयर जिसीले दाबी गरे ।

सामाजिक कार्यक्रम अन्तर्गतका बजेटमा प्रशिक्षणका नाममा अनावश्यक खर्च गरेको पाइएपछि आगामी वर्षदेखि त्यससम्बन्धी ठोस खाका कोरेर नियन्त्रण गरिने उनको भनाइ छ ।

चौतारी तालिमलाई अर्को वर्षदेखि व्यवस्थित गर्ने योजना बुनेको मेयर जिसीले बताए । निश्चित ठाउँमा तालिम सेवा केन्द्र तोकेर योग्य प्रशिक्षकमार्फत गुणस्तरीय तालिम प्रदान गर्न महानगरले चासो दिने उनले सुनाए ।

योजना छनोटका लागि महानगरले खाका कोरेर पठाएको थियो । पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, कृषि तथा पशुपंक्षी, वातावरण, विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत सेवा प्रवाह लगायत योजनाको लागत स्टिमेट गरी पेस गर्न भनेको थियो ।

जेठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्