सत्तारुढ दलकै नेताहरु गुठी विधेयकको विरोधमा

फाइल तस्बिर

काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले आईतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाए।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासा जवाफ दिँदै उनले राजनीतिक सहमति जुटाएर मात्रै सो विधेयक अघि बढाउन पनि सरकारलाई सुझाव दिए।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रर्दशनकारीहरुमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गरे। उनले संविधान विपरित सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिए।

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाए। उनले गुठी विधेयक संविधानको मर्म र भावना विपरीत आएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको आरोप पनि लगाए।

जेठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्