अधिकार प्राप्तिका लागि लड्ने साहास जुटाउनु पर्छ: मुख्यमन्त्री राउत

वीरगञ्‍ज-प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखी विभेदमा परेको थारु समुदायलाई अधिकार प्राप्तिको लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन्।

थारु आयोगले सोमबार जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक संघीय गणतन्त्रमा गएपनि कार्यन्वयन पक्ष इमान्दार नभएकोले संघर्ष अपरिहार्य रहेको उल्लेख गरे ।

संघर्ष नगरे सम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो भविष्य परिवर्तनका लागि थारुहरुमा लडने साहस जुटाउन आग्रह गरे।

आयोग गठनमा समेत विभेद भएको बतादै उनले महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी, मुश्लिम जस्ता आयोगहरुलाई नदिइएको बताए।

समुदायको अधिकारको लागि लडदा रेशम चौधरीलाई झुठा मुद्दा खेप्नु परेको उल्लेख गदै उनले आन्दोलनको नाउमा दशौ हजार मान्छे मार्नेहरु राज्य सत्ता संचालन गर्ने र निर्दोष रेशम चौधरीलाई जेलमा बस्नु पर्ने कहाँको न्याय हो भनि प्रश्न समेत गरेका थिए।

आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने उल्लेख गर्नु हुँदै उनले आयोगलाई बल पुर्‍याउन समेत थारु समुदायलाई संघर्ष गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे।

मुख्यमन्त्री राउतले प्रदेश-२ को सरकारले सबै जात जातिलाई समान दृष्टिले हेर्ने प्रयत्न गरि रहेको उल्लेख गदै प्रदेश सरकारले सबै निकायमा जनसंख्याको आधारमा प्रतिनित्वको सुनिश्चितता गरि रहेको बताए।

आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर २ का थारु अगुवा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्