कार्यवाहक प्रधानमन्त्री पोखरेल भन्छन्,

‘लोकसेवाको कामलाई सरकारले हस्तक्षेप गर्न मिल्दैन’

फाइल तस्बिर

मोरङ-कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले अघि सारेको मागलाई अनुचित भन्न नमिल्ने उपप्रधान एव रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुरा गर्दै रक्षामन्त्री पोखरेलले संवैधानिक अंगले संवैधानिक ढंगबाट गरेको कामप्रति कार्यपालिकाले अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन्।

उनले प्रदेशस्तरमा लोकसेवा आयोगको गठन भइनसकेको अवस्थामा आवश्यक कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगको माग सकारात्मक भएको उल्लेख गरे।

मन्त्री पोखरेलले आयोगले कर्मचारी भर्ना प्रक्रिया समावेशी सिद्धान्त अनुसार अघि बढाएको भनेर प्रष्ट पारिसकेका कारण बाहिर आएका अनावश्यक कुराहरुमा कुनै सत्यता नभएको बताए।

उनले कार्यपालिका, न्यायपालिका तथा संवैधानिक अंगहरु संविधान अनुसार नै अघि बढ्नु पर्नेमा जोड दिए। पछिल्लो समय विवादमा रहँदै आएको मिडिया काउन्सिल विधेयकका सन्दर्भमा मन्त्री पोखरेलले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले संचार क्षेत्रलाई थप व्यवस्थित बनाउने दाबी गरे।

प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि लडेको शक्ति सरकारमा रहेकाले विधेयकले प्रेसलाई नियन्त्रण गर्ने कुरा कल्पना समेत गर्न नसकिने उनको भनाइ छ।

जेठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्