योगीकोटी–धकधई प्रसारण लाइन सञ्चालनमा, भैरहवा क्षेत्रको विद्य‌ुतीय आपूर्तिमा सुधार हुने

फाइल तस्बिर

बुटवल-रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी-धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।

औद्योगिक क्षेत्रको रुपमा तिब्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबार रातीदेखि सञ्चालनमा आएको हो।

भैरहवा बजार र भैरहवामा स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत आपूर्तिका लागि निर्माण गरिएको ३३/११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ।

योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

‘योगीकुटी सबस्टेसनबाट ४/५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने माग अनुसार विद्युत आपूर्ति गर्न सकिरहेका थिएनौं’,–कार्यकारी निर्देशक घिसिङले भने–‘योगीकुटी–धकधई प्रसारण लाइन र धकधई सबस्टेसन संचालनमा आएसँगै त्यस क्षेत्रमा रहेको लो भोल्टेज, लाइन ट्रिपिङ लगायतका समस्या समाधान हुने छन्, ३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने छ भने भैरहवा क्षेत्रमा खुल्ने नयाँ उद्योगलाई विद्युत् आपूर्ति दिन सक्नेछौं ।’

उनले भैरहवा सेज परिसर भित्र सबस्टेसन नबनेपनि तत्कालका लागि धकधई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत् दिन सकिने बताए । आफ्नो परिसरभित्र ३३÷११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ।

सेजभित्र सबस्टेसन निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको छ । धकधई सबस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।

नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सञ्चालित विद्युत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत योगीकुटी–धकधई प्रसारण लाइन र धकधइ सबस्टेसन निर्माण गरिएको हो ।

आयोजना अन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३को असोजमा ठेक्का सम्झौता भएको थियो। केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताए ।

जेठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्