सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक बर्षको बजेट झण्डै २९ अर्ब,बजेट घट्ने

धनगढी-सुदूरपश्चिम प्रदेशको आर्थिक बर्ष २०७६-०७७ का लागि २९ अर्बको हाराहारीमा बजेट विनियोजन हुने भएको छ । बजेटका अन्तिम तयारीमा जुटेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले यस अघि ३० अर्बको बजेट ल्याउने गरी तयारी गरिरहेको भएपनि संघिय सरकारबाट ससर्त अनुदानमा आउने रकम केही घटने भएपछि बजेटको आकार घट्ने देखिएको हो।

संघिय सरकारले गत बर्षको भन्दा यस बर्ष दुई अर्ब सशर्त अनुदानको बजेट सिलिङ घटाएर प्रदेशमा पठाएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए। उनका अनुसार आगामी आर्थिक बर्षका लागि २९ देखी २९ अर्ब ५० करोड बजेट विनियोजन हुनेछ।

मन्त्री बोहोराका अनुसार संघिय सरकारले गर्ने राजश्व बाँडफाड, समपुरक अनुदान, सशर्त अनुदान, अघिल्लो बर्षको बचत कोषका आधारमा प्रदेशमा बजेटको आकार निर्धारण हुने गर्दछ।

सोमबार मन्त्रालयद्धारा आयोजित बजेट सम्बन्धि पत्रकार संगको छलफल कार्यक्रममा मन्त्री बोहोराले भने– ‘प्रदेश सरकारसंग राजश्व संकलनका ठुला श्रोत नहुँदा संघिय सरकारकै भरमा बजेटको आकार निर्माण गरिनु पर्ने बाध्यता रहेको छ ।’ प्रदेश सरकारले अषाढ १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्ने छ।

मन्त्री बोहराले आगामी बजेट कृषि, भौतिक पूर्वाधार,उद्योग, पर्यटन क्षेत्रमा केन्द्रित भएर आउने बताए। उनले भने– ‘अवको बजेट कनिका छरेजस्तो नभई देखिने र जनताले महसुस गर्ने गरी ल्याउन लागिएको छ।’ मन्त्री बोहराले आगामी बर्ष देखी अषाढ मसान्तमा मात्रै योजना सक्ने परिपार्टीको समेत अन्त्य हुने दावी गरेका छन्।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्