वीरगञ्‍जमा सामुदायिक विद्यालय अब सीसीटिभीको निगरानीमा

वीरगञ्ज-वीरगञ्जमा रहेको रेल्वे माध्यमिक विद्यालयमा सोमबारदेखि सिसिटिभिको निगरानीमा पठनपाठन सुरु भएको छ।

विद्यालयमा सिसिटिभीको उद्घाटन गर्दै विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले अब महानगरका सबै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी जडान गर्ने घोषणा गरेका छन्।

उनले शिक्षालाई गुणस्तरीय बनाउन सबै विद्यालयमा यस्तो प्रविधि लागु गरिने बताए। ‘विद्युतिय हाजिरीले शिक्षकलाई थप जिम्मेवार बनाउँछ’, उनले भने,‘सिसिटिभीले विद्यार्थी शिक्षकको क्रियाकलापलाई थप प्रभावकारी बनाउनेछ।’

सामुदायिक विद्यालयमा स्थानीय सरकारको निगरानी बढाउनका लागि तीनवर्ष भित्र वीरगञ्जका सबै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी जडान गरिने उनको भनाई छ। ‘छिट्टै १८ वटा माविमा काम अगाडी बढ्छ, अर्को वर्ष निमावि र त्यसपछि प्राविमा पनि जडान गर्छौ’, मेयर सरावगीले भने।

विद्यालयमा जडान गरिएका सिसिटिभीको निगरानीका लागि महानगरपालिकामा निगरानी कक्ष निर्माण गरिएको उनले जानकारी दिए।

‘बालबालिका पसिनै–पसिना भएर विद्यालयमा पढिरहेका छन्, खानेपानीको उचित व्यवस्थापन र शौचालयको व्यवस्था हुँदैन भने कसरी पढ्छन?’ उनले भने, ‘त्यसको व्यवस्थापनका लागि सबै वडालाई भनेको छु।’

नगर प्रमुख सरावगीले पार्टी जिल्ला अध्यक्षहरु आफ्नो राजनैतिक पसल चलाउन विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष बन्नु दुर्भाग्यपूर्र्ण भएको बताए।

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले आधुनिक प्रविधिले कुनैपनि ठाउँमा बसेर विद्यालय हेर्न सकिने अवस्था बनाएको बताए।

‘विद्युतिय हाजिरी र सिसिटीभी क्यामेरा जडान गर्न एउटा विद्यालयमा ३ लाख जति मात्रै खर्च भएको छ, एउटा सुपरभाईजर राख्दा त्यो भन्दा बढी नै लाग्ला’, कर्णले भने,‘ प्रविधि मार्फत बिहानदेखि रातिसम्म विद्यालयमा हुने सबै गतिविधि थाहा हुने अवस्था बनेको छ।’

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्