आर्मीले जित्‍यो प्रधानसेनापति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि

काठमाडौँ– प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

जितसँगै आर्मीले तीनलाख रुपैयाँ पुरस्कार हात पार्‍यो। यस्तै प्रतियोगिताको उपविजेता गण्डकी प्रदेशलेले एक लाख ५० हजार र तेस्रो भएको नेपाल पुलिसले ७५ हजारमा चित्त बुझाए।

यहि जेठ १९ गते देखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसँगै सात वटा प्रदेशको सहभागिता रहको थियो।

उत्कृष्ट प्रशिक्षक आर्मीका कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर गण्डकी प्रदेशका याम क्षेत्री, उत्कृष्ट ब्लकर आर्मीका हरिबहादुर अधिकारी, उत्कृष्ट लिभ्रो आर्मीकै इश्वर थापा, उत्कृष्ट लिफ्टर आर्मीका दुर्गा प्रसाद महत्तो र उत्कृष्ट सर्भर नेपाल पुलिसका कुलबहादुर थापा भए। उनीहरुले १०/१० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका आर्मीका भैरव बमले १६० सिसीको पल्सर मोटरसाईकल प्राप्त गरे।

पुरस्कृतहरुलाई नेपाली सेनाको प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

जेठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्