बालुवा तस्करीको आरोपमा रिट निवेदन, जिल्ला प्रहरी कार्यालय विपक्षी

फाइल तस्बिर

काभ्रेपलाञ्चोक – भुम्लु गाउँपालिका–८ का वडा सदस्य मनोज श्रेष्ठलगायत तीन जनाले धम्की दिँदै सुनकोशी नदी किनारका विभिन्न स्थानको बालुवा तस्करी गरेको आरोपमा आज उच्च अदालत पाटनमा रिट दायर गरिएको छ ।

निर्माण व्यवसायी रवि तामाङले गाउँपालिकाले टेण्डरमार्फत उत्खनन अनुमति दिएको स्थानमा आफूलाई स्थानीय जनप्रतिनिधि श्रेष्ठ लगायतले धम्क्याउँदै काम गर्न नदिएको र उनीहरुले नै बालुवा तस्करी गरिरहेको जनाउँदै उच्च अदालतमा रिट दायर गरेका हुन् ।

गाउँपालिका कार्यालयले वडा नं ८ को दोलालघाटस्थित डुम्रे बगर, बन्देउ बगर, इन्द्रावती नदीको सिस्नेरी बगर र हरिबोटमुनि क्षेत्रको बालुवालगायत निर्माण सामग्री उत्खनन गर्न टेण्डरमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ स्थित अमिसा निर्माण सेवा प्रालिलाई गत साल फागुन २५ गते रु दुई करोड २६ लाखको सम्झौता गरेको थियो ।

सम्झौतापछि श्रेष्ठले ‘८० प्रतिशत चाहिन्छ, नभए गुण्डा लगाएर काम रोक्न लगाउँछु’ भन्दै धम्क्याएर आफूलाई काम गर्न नदिएको तामाङद्वारा दर्ता रिटमा उल्लेख छ।

रिटमा स्थानीय प्रदीप माझी र विश्वास श्रेष्ठ समेतले श्रेष्ठसँग मिलेर आफूलाई धम्की दिँदै अहिले पनि विभिन्न बगर उत्खनन् गरिरहेका पनि जनाइएको छ ।

माझीले डुम्रे बगरबाट प्रतिटिपर रु दुई हजार ५०० का दरले रु १७ लाख, श्रेष्ठले कोशीपारीस्थित पिकनिक स्पोर्टबाट रु १६ लाख ६५ हजार र विश्वासले बन्देउ मुनिको बगरबाट रु ३८ लाख ५० हजार नगद तथा तीनै जनाले विभिन्न स्थानबाट रु ३५ लाख बराबरको सामग्री लगेको तामाङले रिटमा उल्लेख गरेका छन् ।

तामाङले आइई (वातावरणीय प्रभाव मूल्याङ्कन) गरी गाउँपालिकाका अध्यक्ष तथा कर्मचारी समेतको उपस्थितिमा चारवटै क्षेत्रमा चार किल्ला गरी उत्खनन स्वीकृति दिएको पत्र देखाउँदै कानूनसम्मत् आफ्नो काममा कसैले अवरोध पु¥याउन नहुने बताए ।

गाउँपालिका टेण्डर दिने र वडाका जनप्रतिनिधि नै काममा अवरोध गर्दा रु तीन करोड बराबरको नोक्सानी व्यहोर्नुपरेको तामाङले बताए । उनले रिटमा जिल्ला प्रहरी कार्यालय धुलिखेललाई समेत विपक्षी बनाएका छन् ।

गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले भने यस विषयमा कार्यालयले टेण्डरमार्फत उत्खनन स्वीकृति दिएको र यस विषयमा कसले के गरे भन्ने विषय आफूलाई थाहा नभएको बताए ।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्