( फोटो फिचर)

लोकसेवाको विज्ञापनको पक्ष र विपक्षमा माइतीघरमा प्रदर्शन

लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको विरोध र समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरिँदै। सोमबार समितिले सरकारलाई स्थानीय तहको विज्ञापन रद्द गरेर स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

काठमाडौं-स्थानीय तहमा विभिन्‍न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको विरोध र समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

मंगलबार विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध  माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आयोगको परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुले प्रदर्शन गरे भने समितिको निर्देशन सही भएको भन्दै समर्थनमा आदिवासी/जनजातिका विद्यार्थी संघर्ष समितिले स्वागत गरेका थिए।

सोमबार समितिले सरकारलाई स्थानीय तहको विज्ञापन रद्द गरेर स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो।

प्रदर्शनकारीहरुले लोकसेवामा हस्तक्षेप चाहिदैन,नातावाद, कृपावाद भित्र्याउन पाइँदैन, लोकसेवा आयोग सबैको सरोकार, स्वस्थ निष्पक्ष पारदर्शिता आधार लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए भने समर्थनमा  नेपाल मगर संघ, किराँत याक्थुम चुम्लुङ लगायतका आदिवासी जनजाति संघ/संस्थाले माइतीघरमै स्वागत स्वरुप  प्रदर्शन गरेका थिए।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले लाठी चार्ज गरेका थिए।

प्रशासन सेवा समूहको नायब सुब्बाको तयारी गरिरहेका बर्दिया गेरुवा गाउँपालिका–३ का लक्ष्मण अधिकारीले विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारबाट वञ्चित गराउन खोजेकाले आन्दोलन गर्नुपरेको बताए।

यस्तै बाजुराको मार्तडीका चन्द्रा खड्काले आफू क्याम्पसको परीक्षा नै नदिएर स्थानीय तहको तयारीमा लागेको भन्दै अहिले आएर समितिका मान्छेले आफ्नालाई करारमा नियुक्त गरेर हामीलाई वञ्चित गराउन लागेकाले आन्दोलन गर्नुपरेको बताए।

सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो।

 

 

   

तस्बिरहरु- बर्षा शाह/देश सञ्चार

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्