कर्णालीका मुख्यमन्त्रीलाई खेलाैना कार उपहार

सुर्खेत– कर्णाली सरकार विलासी बन्दै गएको भन्दै साझा विवेकशील पार्टीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई खेलौना कार उपहार दिएको छ।

प्रदेश सरकारले विकास बजेट रकमान्तर गरी गाडिहरु किनेको भन्दै त्यसको प्रतकात्मक विरोध स्वरुप साझा विवेकशीलका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले मंगलबार मुख्यमन्त्री शाहीलाई खेलौना कार उपहार दिएका हुन्।

कर्णाली प्रदेशले चालु आर्थिक वर्षमा ४२ वटा गाडी खरिद गरेको छ। यस्तै अझै १२ वटा गाडी टेन्डर प्रक्रियामा रहेका छन्।

यस्तै साझा विवेकशीलले प्रदेशको आगामी बजेटमा युवा तथा रोजगारमूलक कार्यक्रम ल्याउनु पर्ने, नागरिकलाई शिक्षा र स्वास्थ्य नि:शुल्क गरिनु पर्ने, कर्णालीमा मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायतका मागसहितको ध्यानाकर्षण पत्रसमेत बुझाएको साझा विकेकशीलका कर्णाली प्रदेश संयोजक दाहालले बताए।

जेठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्