प्रदेश-१को नीति तथा कार्यक्रम पारित

मोरङ– प्रदेश एकको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ।

मंगलबार विराटनगरस्थित प्रदेश सभामा सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असहमतिकाबीच पारित गरेको हो।

सरकारले जेठ २३ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। प्रतिपक्षी दल कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा असहमति जनाउँदै ११ वटा बुँदा संशोधन प्रस्ताव दर्ता गरेको थियो। सोही क्रममा कांग्रेस सांसद शेखरचन्द्र थापासँगै ७ जनाले दर्ता गराएको संशोधन प्रस्ताव सदनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले फिर्ता लिन आग्रह गरेका थिए।

यद्यपी कांग्रेस सांसदहरुले मुख्यमन्त्री राईको आग्रहलाई अस्वीकार गर्दै संशोधन फिर्ता लिन मानेका थिएनन्। सोही क्रममा सरकारले संशोधन दर्ता प्रस्ताव अस्वीकृत गरिदिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हाे। जसको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए।

सोहि क्रममा समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादवले दर्ता गराएको संशोधन प्रस्ताव भने मुख्यमन्त्री राईको आग्रहपछि फिर्ता लिएका थिए।

भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतलाई प्राथमिकतामा राख्दै सरकारले प्रदेश एकमा आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको हो।

जेठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्